तपाईँ सुन्दै हुनुहुन्छः

कानुनले अपराधजन्य घटनामा संलग्न कसैलाई छोड्दैन् : महान्यायाधिवक्ता खरेल

भद्रपुर, झापा । महान्याधिवक्ता अग्नि खरेलले कानुनभन्दा माथि कोही पनि रहन नसक्ने बताउनुभएको छ ।

झापाको सदरमुकाम भद्रपुरमा आज आइतबार जिल्ला सरकारी वकिलको नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता खरेलले कानूनको नजरमा सबै समान हुने हुँदा पहुँचका भरमा कसैले पनि उन्मुक्ति पाउन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले सभ्रान्त, पहुँचवाला र हाइ प्रोफाइल मानिस पनि पक्राउ परेको र कानुनी दायरामा आएका र निरपराध गरिबले पनि न्याय पाएका पछिल्ला घटनाहरुले कानुनले अपराधजन्य घटनामा संलग्न कसैलाई छोड्दैन र सजाय दिलाउँछ भन्ने पुष्टि भएको बताउनुभयो ।

कानुनलाई सबैको साझा बनाउनकै लागि विभिन्न समयमा राजनीतिक आन्दोलनहरु भएको उल्लेख गर्दै न्यायाधिवक्ता खरेलले जनताले ठूला–ठूला परिवर्तन ल्याएको ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने लोकोक्तिलाई असत्य सावित गर्नकै लागि भएको बताउनुभयो । उहाँले कानुनी कुरामा संवेदनशील हुनुपर्ने भन्दै कुनै पनि घटनाको अनुसन्धानलाई सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।

महान्याधिवक्ता खरेलले स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराउँदै अपराधीलाई जोगाउन सिफारिश नगरिदिन आग्रह गर्नुभयो । उहाँले सञ्चारकर्मीहरुलाई पनि सचेत गराउँदै अपराधजन्य घटनाका समाचार सम्प्रेषण गर्दा सतर्कता अपनाउन आग्ह गर्नुभयो ।

अछाममा छाउपडी बसेको अवस्थामा मृत्यु भएको घटनालाई संकेत गर्दै उहाँले परम्पराका नाममा, संस्कारका नाममा अपराधजन्य घटना गराउने छुट कसैलाई नहुने बताउनुभयो ।

विश्वमा प्रविधि र सञ्चारका विभिन्न आयाम विकसित भइरहेको भन्दै महान्यायाधिवक्ता खरेलले न्यायसम्पादनका क्रियाकलापलाई पनि समयानुकूल प्रविधिमैत्री, मानवाधिकारमैत्री बनाउँदै लैजानुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले देशका ४० वटा सरकारी वकिलको कार्यालय निर्माणको क्रममा रहेको भन्दै सरकार देशभरि सरकारी वकिलको कार्यालयको स्तरबृद्धि गर्ने कार्यमा जुटेको बताउनुभयो ।

नायव महान्यायाधिवक्ता खगराज पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य, जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोर्तेल, प्रदेशसभा सांसद पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

५ कट्ठा ३ धुर क्षेत्रफलमा ३ करोड ७१ लाख ९० हजार लागतमा निर्माण सम्पन्न भएको साढे ३ तले कार्यालय भवन अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री रहेको जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो ।

सो अवसरमा समयमै निर्माण सम्पन्न गरेकोमा आशिषदीप निर्माण सेवा जेभीका सञ्चालक ऋषिकेश रिजाललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button