तपाईँ सुन्दै हुनुहुन्छः

नेटो सम्मेलनमा अल्बानियाका प्रधानमन्त्रीद्वारा सहयोगको आह्वान   

टिराना । अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गर्नु भएको छ ।

लन्डनमा डिसेम्बर ३ र ४ मा जारी रहेको नेटो सम्मेलनमा उहाँले उक्त आह्वान गर्नु भएको हो । अल्बानियामा गत नोभेम्बर २६ मा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । पूर्वी युरोपको तुलनात्मक रुपमा कमजोर राष्ट्र अल्बानियालाई मद्दत गर्न प्रधानमन्त्री रामाले नेटो आबद्ध मित्र एवं सहकर्मी, राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गर्नु भएको थियो ।

नेटो शिखर सम्मेलन लगत्तै प्रधानमन्त्री रामा इटाली प्रस्थान गर्न लाग्नु भएको छ ।

अल्बानिया सरकारले वित्तीय सहयोग र विज्ञ सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको छ । अल्बानियासामु यतिठूलो विनाशलाई सम्बोधन गर्ने क्षमता नरहेको पनि सरकारले जनाएको छ ।

अल्बानियाका रक्षा मन्त्री ओल्टा झाकाले पनि सोमबार भूकम्पबाट भएको भौतिक क्षति साँच्चिकै भयानक रहेको बताउनुभएको छ ।

प्रारम्भिक विवरण अनुसार भूकम्पबाट करिब सात हजार ९०० घरहरु क्षतिग्रस्त भएका छन् । करिब ६.४ म्याग्नीच्यूडको उक्त भूकम्पबाट ५१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button