तपाईँ सुन्दै हुनुहुन्छः

छाउ गोठमा  मृत भेटिएकी पार्वतीका जेठाजु पक्राउ

अछाम । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ मा २१ बर्षकी पार्वती बुढा रावतको छाउगोठमा ज्यान गएपछि परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको छ । निर्देशनपछि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी) को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेसंगै अछाममा प्रहरीले छाउगोठमा निधन भएकी पार्वतीका जेठाजु छत्र राउतलाई पक्राउ गरेको छ ।

अछाममै कक्षा १२ सम्मको अध्ययन गरेकी पार्वती सोमबार बिहान छाउगोठमा शरीरमा कुनै चोटपटक नभई मृत अवस्थामा भेटिएकि थिईन् । उनका पति करन रावत बैदेशिक रोजगारीमा रहेको र सासु ससुरा पनि बाहिर भएकाले घरको तत्काल अभिभावक रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा आज पक्राउ गरिएको अछामका डिएसपी जनकबहादुर शाहीले बताउनुभयो ।

मुलुकी अपराध संहिता अनुसार छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र तीन हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । राष्ट्रसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले कानुनले छाउप्रथालाई दण्डनीय बनाइसक्दा पनि कार्यन्वयन नहुने र वर्षेनी छाउगोठमा महिला र किशोरी तथा बालिकाहरुको अकालमा ज्यान जाने अवस्था कायम रहेकाले अपराध संहिताको व्यवस्थालाई कार्यन्वयनमा लैजान आफूले ताकेता गरेको पुष्टि बताउनुभयो ।

महान्यायाधिवक्ताले पीडित पक्षबाट जाहेरी नआए पनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाउनु भनेकाले प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा दर्ता गरिएको डीएसपी शाहीले बताउनुभयो ।

मुद्दा प्रक्रिया अघि बढेको बताउँदै मृतकलाई छाउगोठमा बस्न बाध्य पारिएको हो वा आफैं बसेको भन्ने अनुसन्धानबाट खुल्ने तथा तत्काल कारवाही प्रक्रिया भने अघि बढेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button