तपाईँ सुन्दै हुनुहुन्छः

पौडेलविरुद्ध आरोपपत्र दायर, दुई कर्मचारी घुससहित पक्राउ

पाल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा ८१ हजार रुपैयाँको फर्जी बिल बनाई भ्रष्टाचार गरेको आरोपमा आयोगले सोही रकम बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

यसैगरी, सेवाग्राहीसँग घुस लिँदालिँदै आयोगको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयमा कार्यरत नायब सुब्बा नारायणराज मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि कार्यालय सहयोगी भाइकाजी गौतममार्फत ४० हजार रुपैयाँ घुस माग गरी रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट दुवै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button