तपाईँ सुन्दै हुनुहुन्छः

सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय परिषद्को आजको बैठकले रिक्त सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले न्यायसेवामा कार्यरत कर्मचारीबाट सात जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

न्याय सेवाका कार्यरत उपसचिवमध्ये २० प्रतिशत कर्मचारीबाट जिल्ला न्यायाधीशमा नियुक्त गर्न सकिने व्यवस्थाअनुसार परिषद्ले उपसचिवहरु गेहेन्द्रराज पन्त, विद्याराज पौडेल, महेन्द्रराज काफ्ले, टेकराज जोशी, इन्दिरा शर्मा, मनकुमारी जिएम विक र रीताकुमारी बख्रेललाई जिल्ला न्यायाधीशमा सिफारिस गर्दै नियुक्तिका लागि सिफारिस गरेको हो ।

नियुक्त तथा पदस्थापन

प्रधानन्यायाधीश जबराले नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशको आजै नियुक्ति गरी पदस्थापना भएको छ ।

न्यायाधीश पन्तलाई भोजपुर जिल्ला अदालत, न्यायाधीश पौडेललाई रुकुम जिल्ला अदालत, न्यायाधीश काफ्लेलाई सोलुखुम्बु जिल्ला अदालत, न्यायाधीश जोशीलाई डोल्पा जिल्ला अदालत, न्यायाधीश शर्मालाई झापा जिल्ला अदालत, न्यायाधीश विकलाई बाँके जिल्ला अदालत र न्यायाधीश बख्रेललाई सप्तरी जिल्ला अदालतमा पदस्थापन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button