तपाईँ सुन्दै हुनुहुन्छः

‘पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिँदा व्यवसाय समस्यामा’

काठमाडौं । नेपालमा पोल्ट्रीजन्य वस्तु अवैध रुपमा भित्रिँदा नेपाली पोल्ट्री व्यवसाय समस्यामा परेको कुखुरापालक किसानहरुले बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा कुखुरा व्यवसाीयहरुले नेपाल भारत बीचमा रहेको खुला सिमानाको कारण मुलुक बाहिरबाट सुलभ मूल्यमा मासुजन्य वस्तु र बोइलर कुखुरा भित्रने गर्दा नेपाली कुखुरा पालक व्यवसायीले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

मुलुकमा अवैध रुपमा भित्रने कुखुरा र मासु रोक्नका लागि राज्यसँग सहयोगको माग गर्नुपर्ने अवस्था सिर्जना भएको चितवन नवलपुर दाना वितरक सङ्घका अध्यक्ष तेजनाराण पाण्डेले बताउनुभयो ।

कुखुरा व्यवसायीमा बढ्दै गएको मनपरी मूल्य निर्धारणलाई सुनिश्चित गर्न मूल्य समायोजन समिति गठन गर्न आवश्यक रहेको नेपाल कुखुरा बजार ब्यवस्थापन सङ्घ, केन्द्रीय समितिका उपाध्यक्ष हेरम्वराज कोइरालाले बताउनुभयो ।

हाल नेपालमा पोल्ट्री क्षेत्रमा ७५ अर्ब बढी लगानी छ । नेपालमा हाल २२ लाख वटा अन्डा उत्पादन हुन्छ भने प्रतिहप्ता २५ लाख बोइलरका चल्ला उत्पादन हुन्छन । एक लाख २० हजार लेयर्स चल्ला र दुई हजार सात सय मेट्रिक टन दाना उत्पादन हुँदै आएको छ ।

बोइलर कुखुरा पालनले मात्र मुलुकमा दुई लाख ५० हजार जनतालाई रोजगार सिर्जना गराएको छ । यो व्यवसायबाट दैनिक १२ लाख केजी मासु उत्पादन भई बजारको माग पूरा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button