तपाईँ सुन्दै हुनुहुन्छः

छाडा गाईबाच्छा संरक्षणका लागि जुट्न थाल्यो सहयोग

काठमाडौं।सडकमा छाडा छाडिएका गाईबाच्छा संरक्षण गर्ने उद्देश्यले स्थायी भवन निर्माण एवं दैनिक दानापानीका लागि सहयोग जुट्न थालेको छ । छाडा छाडिएका गाईबाच्छलाई गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका करीब एक दर्जन युवा अभियानकर्मीले गत जेठ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको वाग्मती किनारमा आश्रयस्थल निर्माण गरी संरक्षण गर्नुभएको थियो ।

आश्रयस्थलमा हाल ४० बाच्छाबाच्छी संरक्षण गरिएको छ । आश्रयस्थलमा १५ बाच्छी र २५ बाच्छा छन् । सडकबाट उठाएर ल्याइएका बिरामी गाईबाच्छाको उपचारको व्यवस्था पनि आश्रयस्थलमा भइरहेको छ । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले अबोध गाईबाच्छा संरक्षणका लागि भवन निर्माण गर्न रु १० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो । गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहराका नगर प्रमुख कृष्णहरि थापाले गाईबाच्छा संरक्षणका लागि नगरपालिकाका तर्फबाट जग्गा उपलब्ध गराउने बचन दिनुभएको छ ।

साथै गाईबाच्छा संरक्षणमा उल्लेख्य सहयोग गर्ने दुवै नगर प्रमुखको प्रतिबद्धता थियो । दुवै नगरपालिकाले चालु आर्थिक वर्षमा सो शीर्षकमा बजेट छुट्याइएको जनाएका छन् । कागेश्वरी मनोहराले रु २५ लाख र गोकर्णेश्वरले रु १२ लाख बजेट छुट्याइएको छ । छाडा गाईबाच्छाको संरक्षणका लागि थप सहयोग पनि भइरहने दुवै नगरपालिकाको बचनबद्धता छ ।

जन्मदिनमा गाईबाच्छालाई सहयोग गर्ने बढे

जन्मदिनमा केक काट्ने, साथीभाई जम्मा भएर मदिरा पिउने केही मानिसको प्रचलन अब यसरी आश्रय दिइएको गाईबाच्छालाई सहयोग गर्नतिर मोडिएको छ । विभिन्न अवसरमा हुने फजुल खर्च जोगाएर कल्याणकारी काममा लगाउन युवावर्ग अघि सरेका छन् ।

जोरपाटी निवासी सन्तोष बरालले आफ्नो जन्मदिनका अवसरमा रु चार हजार नगद पिठो र औषधिका लागि उपलब्ध गराउनुभएको छ । नयाँ बस्ती युवा क्लबले पीठो, पिना लगायतका खाद्यान्न उपलब्ध गराएको छ । डिल्लीबजार निवासी आयुष्का पुडासैनीको जन्मदिनका उपलक्ष्यमा उहाँका अभिभावकले रु सात हजार उपलब्ध गराउनुभएको छ ।

यसैगरी समन भट्टराई र रघुनाथ आचार्यले रु एक हजार उपलब्ध गराउनुभएकोे छ । आफ्नो जन्मदिनका अवसरमा स्वामी महेन्द्र भट्टराईले रु १० हजार तथा जन्मदिनकै अवसरमा व्यवसायी रवि भट्टले रु पाँच हजार गाईबाच्छा संरक्षणका लागि उपलब्ध गराउनुभएको छ ।

आफ्नो जन्मदिनका अवसरमा जोरपाटी नयाँबस्ती निवासी अमृत सापकोटा पिठो र गाई बाच्छाको उपचारका लागि रु तीन हजार सहयोग गर्नुभएको छ । जन्मदिनमा गाईबाच्छाका लागि सहयोग गर्नेको नाममा आश्रितको नामकरण गर्ने गरिएको गुह्येश्वरीमाथिको वाग्मती सफाइ गर्दै आएका वाग्मती सुन्दरता सरोकारमञ्चका अध्यक्ष समेत रहनुभएका पुडासैनीले बताउनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइका क्रममा नदी किनारमा मर्ने बाच्छाबाच्छीको सङ्ख्या बढ्न थालेपछि अस्थायी आश्रयस्थल बनाइएको हो । सफाइका क्रममा एक वर्षमै ६०० भन्दा बढी मृत बाच्छाबाच्छी गाड्नुपरेको थियो । छाडा छोडेपछि पानी पिउन नपाउने, वाग्मतीको पानी पिए पनि दूषित भएकाले मर्ने, प्लाष्टिक खाएर मर्ने, कुकुरले लखेटेर मार्नेलगायत समस्याले ठूलो सङ्ख्यामा मर्ने गरेको अभियानकर्मीले जनाएका छन् ।

काठ क्षेत्र रहेको दुवै नगरपालिकामा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि गाई पाल्नेको सङ्ख्या उल्लेख्य छ । गाईपालकले बाच्छी जन्मे घरमै राख्ने बाच्छा जन्मिए सडक, मन्दिर वा नदी किनारमा लगी छाड्ने गरेका छन् । तीव्र शहरीकरण एवं स्थान अभावका कारण गाई पाल्न छाड्नेले भने बाच्छी पनि छाड्ने गरेका छन् । त्यसका कारण सडकमा जाम एवं दुर्घटना बढ्ने गरेको छ ।

रत्नपार्क–साँखु मार्गमा सार्वजनिकयातायात चलाउने चालक रामबहादुर तामाङ गौशाला चोकबाट माथितिर लागेपछि छाडा छाडिएका गाई बाच्छाका कारण समस्या हुने गरेको गुनासो गर्नुहुन्छ । गाई व्याएपछि सुत्केरी भत्ता दिएर बाच्छाबाच्छीलाई ट्याग लगाउने व्यवस्था गर्न अभियानकर्मी गोविन्द पुडासैनीले दुवै नगरपालिकाका प्रमुखसँग माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button