तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई दर्शनका लागि भिआईपी पासको व्यवस्था

बीरगंज । गढीमाई मन्दिरमा दर्शन गर्न मेला व्यवस्थापन समितिले भिआईपी पासको व्यवस्था गरेको छ । भिआइपीहरूलाई दिइने यस्तो पास व्यस्तताका कारण लाइन बस्न नसक्ने सर्वसाधारणका लागि पनि सशुल्क वितरण गरिँदै छ ।

दर्शनार्थीले एक हजार रुपैयाँ नगद तिरेर भिआईपी पास लिने व्यवस्था मिलाईएको मेला समितिका प्रवक्ता मुकेश यादवले जानकारी दिनुभयो । सर्वसाधारण जो कोहीले एक हजार रुपँैया तिरेपछि घण्टाँै लाईनमा बस्नु पर्ने बाध्यताबाट मुक्ति पाउने र सिधँै गढीमाईको दर्शन गर्ने व्यवस्था मिलाईएको यादवले बताउनुभयो ।

यस्तो विशेष सुविधा खोज्ने दर्शनार्थीलाई यसअघि उपलब्ध गराउन नसकिएको गढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले बताउनुभयो । गढीमाई मन्दिरको पश्चिमद्वारबाट विशेष पास लिएका भक्तजनलाई प्रवेश गराइने र पश्चिमद्वारमै शुल्क लिएर बिशेष पास वितरण गर्ने कार्यसमेत भईरहेको नगर प्रमुख यादवले जानकारी दिनुभयो ।

विगत केही दिन यता गढीमाई मन्दिर परिसरमा दर्शनार्थीहरुको भिडभाड बढेको छ । भीडभाड बढेसँगै मेलामा मिठाई, प्रसाद, बच्चाहरूको खेलौना, खाना–नास्ताको होटलको कारोबार निकै मौलाएको छ ।

मन्दिर परिसरमा सयौंको संख्यामा भारतबाट आएका भिख माग्ने भिखारीहरुले दर्शनार्थीलाई दुःख दिने गरेका छन् । कलिला बालबालिकादेखि बृद्धबृद्धासम्म सडकमै लम्पसार परेर भिख माग्ने गरेको र सयौंलाई दिन नसक्दा समस्या झेल्नु पर्ने दर्शनार्थीले गुनासो गरेका छन् ।

भीख माग्नेहरूले गढीमाई मेलामा बालबालिकाको प्रयोग बढी मात्रामा गरेको र खुट्टै समातेर अगाडी बढन नदिने गरी भिख माग्दा समस्या झेल्नु परेको चितवन भरतपुरबाट गढीमाई दर्शनको लागि आउनु भएकी पवित्रा चापागाईले बताउनुभयो ।

उहाँले भिख माग्नेहरुलाई मेला व्यवस्थापन समिती र स्थानीय प्रशासनले व्यवस्थापन गर्नुपर्ने मागसमेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button