तपाईँ सुन्दै हुनुहुन्छः

पर्साको सखुवाप्रसौनी, बाराको बारागढी र रौतहटको गढीमाईमा शान्तिपूर्ण रुपमा मतदान

बीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा वडाध्यक्षको लागि भइरहेको मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ ।

सखुवाप्रसौनीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार दिउँसो २ः३० बजेसम्ममा ६७ प्रतिशत भन्दा बढी मत खसिसकेको छ ।

वडाध्यक्षको पदका लागि भइरहेको उपचुनावमा दुई हजार छ सय दुई जना मतदाता रहेका छन । जसमध्ये बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिले सम्म एक हजार सात सय ४७ जनाले मतदात गरिसकेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले बताउनुभयो ।

निर्वाचन क्षेत्रमा कडा सुरक्षा व्यवस्थाका बीच तिन वटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताउनुभयो ।

यसैगरी बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर एकमासमेत आज शान्तिपूर्ण रुपमा उपनिर्वाचन भईरहेको छ ।

तत्कालिन वडा अध्यक्ष नन्दलाल राय थारुको गत २०७५ मंसीर १४ गते निधन भएपछि वडाध्यक्षको पदको लागि मतदान भइरहेको हो । बारागढी १ मा जम्मा दुई हजार चार सय ६६ मतदाता रहेकोमा २ः३० बजे सम्म एक हजार सात सय ९४ मत खसिसकेको र हाल सम्म ६९ प्रतिशत मतदान भईसकेको बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणी पोख्रेलले जानकारी दिनुभएको छ ।

उपनिर्वाचन हुने क्षेत्रका मतदाताहरुले सरकारी कार्यालयबाट जारी भएका आफ्नो परिचय पत्र तथा फोटोसहितको कुनै पनि परिचयपत्र देखाएर मतदान गर्न सक्ने व्यवस्था आयोगले गरेको छ ।

यसैगरी रौतहटको गढिमाई नगरपालिका–२ को वडाध्यक्षको निर्वाचनमा अहिले सम्म ७१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । वडाका १ हजार आठ सय २२ मतदाता मध्ये १ हजार तीन सय जनाले मतदान गरिसेको प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिनुभयो ।

वडाको उपचुनावका लागि ३ वटा मतदान केन्द्र तोकिएको छ । सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको पौडेलले बताउनुभयो । सोे वडाको अध्यक्षका लागि ११ जनाको उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button