तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

भद्रपुर-जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ । झापाको कचनकबल गाउँपालिका–७ स्थित सामुदायिक वनमा गरिएको विद्युतीय घेराबेराको ढोका बन्द गर्न गएका वेला जङ्गली हात्तीको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

कार्यालय प्रमुख विष्णुलाल घिमिरेका अनुसार स्थानीय जलथल जङ्गलबाट हात्ती गाउँतिर नपसोस् भनेर गरिएको विद्युतीय घेराबेराको ढोका लगाउन गएका ६२ वर्षीय क्षेत्रीलाई गए राति ७ बजे हात्तीले आक्रमण गरेको थियो । मृतक क्षेत्रीलाई हात्तीले सुँढले बेरेर जङ्गल छेउबाट गाउँमा पु¥याएपछि स्थानीयवासीले घटना थाहा पाएका थिए ।

मृतकलाई घेरेर बसेको हात्तीलाई तत्कालै डिभिजन बन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट परिचालित सुरक्षाकर्मीले जङ्गलतिर लखेटेको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा लगिएको छ ।

झापामा दुई दिन अघि प्रगति सामुदायिक वनमा लुकेर बसेको जङ्गली हात्तीले मेचीनगर–१२ का १९ वर्षीय सुशील गजमेरलाई सडकमा हिँडिरहेका बेला आक्रमण गरी सख्त घाइते बनाएको थियो । सो आक्रमणमा चार वटा करङ भाँचिएका गजमेरको चारआलीस्थित मनकामना हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button