२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा टिपर दुर्घटना , मृतकको सङ्ख्या चारः दुर्घटना मापसेको कारण

रेडियो नेपाल २०७६ मंसिर १२ गते ८:०१

हुम्ला । दुर्घटनामा परेका १३ मध्ये एक जनाको जिल्ला अस्पताल हुम्लामा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको छ । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा १३ जना घाइतेमध्ये थप एक जनाको मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ का बक्त रोकायाको मृत्यु भएको जिल्ला अस्तालका सिनियर अनमि सरिता बोहराले जानकारी दिनुभयो । दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । अन्य उपचारत ११ जनाको अवस्था चिन्ताजनक रहेको बोहराले बताउनुभयो ।

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर आउँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना भएको हो ।

चालकले अत्यधिक मदिरा सेवन गरी टिपर हाँकेको पाइएको प्रारम्भिक अध्ययनले देखाएको छ । चालक काभ्रे जिल्ला बुद्धनगरपालिका ११ भालुखर्कका आनन्द तामाङलाई स्थानीयवासीले कब्जामा लिई प्रहरीसमक्ष पेश गरेका छन् ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन् । टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताउनुभयो ।

सम्बन्धित