तपाईँ सुन्दै हुनुहुन्छः

बोलिभियाद्वारा एघार बर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त

लापाज, बोलिभिया । बोलिभियाले एघार बर्षपछि पहिलो पटक संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेको बोलिभियाली अधिकारीले बताएका छन् ।

यस पहिले संयुक्त राष्ट्रसङ्का लागि बोलिभियाको राजदूत र स्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका वाल्टर ओस्कार सेराट सेउलारलाई बोलिभियाले अमेरिकाका लागि राजदूत नियुक्त गरेको त्यहाँको विदेश मन्त्रालयद्वारा ट्वीटरमार्फत मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । यद्यपि उहाँको नियुक्ति सदर हुनका लागि बोलिभियाको संसदबाट अनुमोदन हुनुपर्छ ।

कामचलाउ सरकारले निवर्तमान राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै निर्वाचन गर्ने तयारी गरिरहेका समय अमेरिकाका लागि राजदूतको नियुक्ति आएको हो ।

बोलिभियाको राष्ट्रपतिका लागि भएको निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि जितेपछि त्यहाँको प्रतिपक्षी दलले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा उत्रिएको थियो । त्यसपछि झिनो मतले राष्ट्रपति विजय भएका मोरालेसले राष्ट्रपतिको पदबाट राजिनामा घोषणा गर्न बाध्य हुनुभएको थियो ।

पूर्व राष्ट्रपति मोरालेसले अक्टोबर १० मा पदबाट राजिनामा दिई मेक्सिकोमा शरण लिनुभएको छ । परिवर्तित राजनीतिक अवस्थामा अन्तरिम सरकारले देशको वैदेशिक नीतिलाई पुनरावलोकन गर्दै अमेरिकासँगको सम्बन्धलाई जोड्ने नीति लिएको हो ।

वासिङ्टन र लापाजबीचको कूटनीतिक विवादपछि सन् २००८ मा अमेरिकाका लागि बोलिभियाली राजदूतलाई देश छाड्न अमेरिकाले निर्देशन दिएको थियो । बदलामा बोलिभियाले पनि अमेरिकी राजदूतलाई आफ्नो देश छोड्न आदेश दिएको थियो ।

समाजवादी नेता मोरालेसले बोलिभियामा करिब १४ बर्ष सत्ता चलाउने क्रममा अमेरिका र बोलिभियाबीचको सम्बन्धमा समस्या आएको थियो ।

अमेरिकाको सहयोगप्राप्त दक्षिणपन्थी धारकी सांसद जेयनाइन एनेजले मोरालेसको राजिनामापछि आफू राष्ट्रपति बनेको घोषणा आफैले गर्नुभएको थियो ।

त्यस्तै यस अघि बोलिभियाको राम्रो सम्बन्ध रहेका समाजवादी मुलुक क्युवा र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँगको कूटनीतिक सम्बन्धलाई तोडिएको पनि घोषणा गर्नुभएको छ ।

–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button