तपाईँ सुन्दै हुनुहुन्छः

चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो ।

४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ बराबरको पूँजी रहेको चिलिमेको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभामा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक तथा चिलिमे जलविद्युत कम्पनीका अध्यक्ष कुलमान घिसिङले चिलिमेले तुलनात्मक रुपमा विगतमा भन्दा लाभांश बढाउँदै गएको बताउनुभयो ।

उहाँले चिलिमे अन्तर्गतका अन्य आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको बताउँदै केही वर्षपछि लाभांश वितरण गर्ने क्षमता बढ्ने समेत बताउनुभयो ।

घिसिङले चिलिमे अन्तर्गतका निर्माणाधीन आयोजनाहरुको निर्माण कार्य ५० देखि ८५ प्रतिशतसम्म सम्पन्न भएको जानकारी गराउनुभयो ।

चिलिमे अन्तर्गत सान्जेन तथा माथिल्लो सान्जेन जलविद्युत आयोजना, मध्य भोटेकोशी जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button