तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र विश्व बैंकबीच समझदारीपत्रमा हस्ताक्षर

भुवनप्रसाद आचार्य । नेपाल र विश्व बैंकबीच नेपालका युवाहरुलाई स्वरोजगार बनाउने र सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम संचालनका लागि शिक्षा र रोजगारी सम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा बुधवार भएको समझदारीमा अर्थ सचिव डा राजन खनाल र विश्व बैंकका नेपालस्थित देशिय निर्देशक फेरिस एच हदाद जेभोसले हस्ताक्षर गर्नु भयो ।

समझदारी भएका आयोजनाहरुमा युवा रोजगारी रुपान्तरण प्रयास यती नामक नयाँ आयोजना र नेपालको विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि अतिरिक्त सहयोग सम्बन्धी रहेका छन् ।

युवा रोजगारी रुपान्तरण प्रयास यती नामक नयाँ आयोजनाले नेपालका करिव १ लाख युवाहरुलाई मुख्य रुपमा महिलाहरुलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने भएको छ । सहभती अनुसार सो आयोजना कार्यान्वयनका लागि विश्व बैंकले पोइन्ट ७५ प्रतिशतमा करिव १४ अर्ब रुपैया बराबरको सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।

आयोजनाले नेपालका ७५३ स्थानीय तहमा रोजगारीका अवसर अभिवृद्धिका लागि रोजगारी सहयोग केन्दहरु स्थापना गर्ने र त्यहाँ वेरेजगारहरुको दर्ता गरिने छ । यो कार्यक्रम नेपाल सरकार श्रम तथा रोजागार मन्त्रालयले कार्यान्वयन गर्नेछ ।

परियोजनाले ३५ हजार व्यक्तिहरुलाई अस्थायी प्रकारको रोजगारी समेत उपलब्ध गराउने र युवाहरुको क्षमता अभिवृद्धि गर्न समेत सहयोग गर्नेछ ।

त्यसै गरी नेपालको विद्यालय क्षेत्र सुधार कार्यक्रमका लागि अतिरिक्त सहयोग अन्र्तगत करिव ३ अर्ब रुपैया सहुलियत ऋण लगानी गर्ने भएको छ ।

कार्यक्रमबाट बर्षेनी ७० लाख बालबालिकाहरु र १ लाख ८० हजार शिक्षकहरु र ३० हजार सामुदायिक विद्यालयहरु लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा अर्थ सचिव राजन खनालले समझौताले नेपालको रोजगारी तथा शिक्षाको गुणस्तर वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

विश्व बैंकका नेपाल निर्देशक फेरिस एच हदाद जेभोसले यती नयाँ परियोजनाको माध्यमबाट नेपालका स्थानीय निकायहरुमा युवाहरुलाई तालिम र रोजगारी उपलब्ध गराउन र शिक्षाको अवसरबाट बहिर रहेका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र रोजगारी उपलब्ध गराउन महत्वपूर्ण हुने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button