तपाईँ सुन्दै हुनुहुन्छः

मौन अवधिमा आचार संहिताको पुर्ण पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधिमा आचार संहिताको पुर्ण पालना गर्न आग्रह गरेको छ ।

उपनिर्वाचनको तयारीका विषयमा जानकारी दिन आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन कानुन र आचार संहिताको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्नुभएको हो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन जति स्वच्छ, स्वतन्त्र र निष्पक्ष, विश्वासनीय र सर्वस्वीकार्य हुन्छ, त्यति नै शासन व्यवस्था उत्तरदायी, पारदर्शी, जनमुखी र सदाचारयुक्त हुन्छ भन्नेमा आयोग विश्वस्त रेहेको बताउनुभयो ।

उपनिर्वाचनको मौनअवधि आज राति १२ बजेबाट सुरु हुदैछ, मतदान हुनु भन्दा ४८ घण्टा अघिबाट मौनअवधि सुरु हुने कानूनी व्यवस्था रहेको छ ।

मौन अवधिमा आश्वासन, प्रलोभन, डर, धाक, दबाब, वा प्रभावमा पारी मतदातालाई आतंकित पार्ने, मतदान केन्द्रमा जानबाट रोक्ने, मतदाता परिचयपत्र कब्जा गर्न खोज्ने, एउटाको नाममा अर्कैले मतदान गर्ने, निर्वाचन क्षेत्र बारिका व्यक्रि प्रवेश गरी संकास्पद गतिविधि गर्ने, गलत तथ्यहीन र भ्रमामक हल्ला फिजाउने, कोही कसैप्रति घृणा र द्वेष फैलाउनेजस्ता निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने कार्य गर्ननहुने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसयमा संलग्न व्यक्तिलगायत आम नागरिकलाई यस्ता क्रियाकलापबाट सचेत रहन आह्वान गर्दै आयोगले कुनै अप्रिय अवस्था वा निर्वाचन आचार संहिता विपरितका काई हुने आशंका भएमा तत्काल जिल्ला उपनिर्वाचन आचार संहिता अनुगमन समिति, स्थानीय प्रशासन वा आयोगलाई जानकारी गराउन आग्रह गरेको छ ।

निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट आचार संहिता र वित्तीय सुशासनका मापदण्डको पालना भएन भने छानिएका प्रतिनिधिबाट शासकीय सुशासन सम्भव हुन सक्दैन भन्ने कुरालाई आयोगले गम्भिरतापूर्वक रुपमा लिएको प्रमुख निर्वाचन आयुक्त थपलीयाले जानकारी दिनुभयो ।

मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न नपाइने पाटोमा हेक्का राख्न सुझाव दिदै आयोगले यस अवधिमा वेभसाइड, ट्वीटर, फेबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको बताएको छ ।

मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका लागि खटिएको स्थानमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाँउपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ पद चयनका लागि हुन लागेको हो, उपनिर्वाचनका लागि ४ लाख ५४ हजार ११४ मतदाता कायम रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button