तपाईँ सुन्दै हुनुहुन्छः

बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल पोषण पोको

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिकाले बर्थिङ सेन्टरमा सेत्केरी गराउनेलाई बाल ‘पोषण पोको’ दिने व्यवस्था गरेको छ । आमा र बच्चालाई कुपोषित हुनबाट बचाउन र बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन प्रोत्साहन गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याएको हो ।

बालबालिका र आमालाई आवश्यकपर्ने पोषणयुक्त खानेकुरा खरीद गर्न सहयोग पु¥याउने उद्देश्यका साथ आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा ल्याइएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले जानकारी दिनुभयो । यो कार्यक्रम पश्चात् बर्थिङ सेन्टरमा नै सुत्केरी गराउन आउनेको सङ्ख्या बढ्ने अपेक्षा रहेको खतिवडाले बताउनुभयो ।

बर्थिङ सेन्टरमा सुत्केरी गराउन आउने नगरपालिका भित्रका आमाले बाल पोषण पोको कार्यक्रमअन्तर्गत एकमुष्ट नगद तीन हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

आमा र बच्चा दुवै सुरक्षित भएर सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवाको पनि नगरपालिकाले व्यवस्था गरेको छ । खाँदबारी नगरपालिका भित्रका गर्भवती आमालाई जहाँबाट भए पनि बर्थिङ सेन्टरसम्म जानको लागि जस्को पनि एम्बुलेन्स प्रयोग गर्न सक्ने नगरपालिकाले कार्यक्रम ल्याएको हो ।

पायकपर्ने ठाउँमा नगरपालिकाकै एम्बुलेन्स निःशुल्क प्रयोग गर्न सक्ने गरी कार्यविधि बनाइएको खाँदबारी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । नगरपालिकाको एम्बुलेन्स उपलब्ध नभएको ठाउँमा अरु जो कोहीको एम्बुलेन्स प्रयोग गर्न सक्ने र त्यसको बिल भर्पाई नगरपालिकालाई बुझाएपछि उक्त खर्च नगरपालिकाले व्यहोर्ने कार्यक्रम रहेको प्रसासकीय अधिकृत धमलाले बताउनुभयो ।

उक्त सेवा र सुविधा लिनको लागि बच्चाको जन्मदर्ता गराउन जाँदा स्वीकृत बर्थिङ सेन्टर वा अस्पतालमै बच्चा जन्माएको प्रमाण पत्र र बर्थिङ सेन्टर आउँदाको एम्बुलेन्सको बिल भर्पाई लिएर जानुपर्ने धमलाको भनाइ छ । नगरपालिकाभित्रका आमा र बच्चाको स्वास्थ्यमा कुनै समस्या आउन नदिन चालु आर्थिक वर्षमा यो कार्यक्रमको लागि रु ६ लाख बजेट विनियोजन गरिएको हो ।

खाँदबारी नगरपालिकाभित्र जिल्ला अस्पतालसहित अन्य ३ वटा बर्थिङ सेन्टर छन् । नगरभित्र जिल्ला अस्पताल बाहेक नगरपालिकाको तीन वडा तुम्लिङटार, सेकाहा र सित्तलपार्टीमा तालीम प्राप्त स्वास्थ्यकर्मीले सुत्केरी सेवा प्रदान गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button