तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको निर्णय कार्यान्वयन गर्ने मेडिकल सञ्चालकको प्रतिवद्धता

काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरुले मेडिकल कलेजले विद्यार्थीबाट तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले रकम फिर्ता नगरे कलेज सञ्चालकहरुलाई ठगी मुद्दामा कारवाही गर्ने सरकारले चेतावनी दिएपछि मेडिकल कलेज सञ्चालकहरुले त्यस्तो प्रतिवद्धता जनाएका हुन् ।

काठमाडौँ मेडिकल कलेज काठमाडौँ, कलेज अफ मेडिकल साइन्स चितवन, नेपाल मेडिकल कलेज काठमाडौँ, नेपालगञ्ज मेडिकल कलेज बाँके र विराट मेडिकल कलेज विराटनगरका सञ्चालकले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेट गरी बढी शुल्क फिर्ता गर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन गर्ने बताएका छन् ।

सञ्चालकहरुले सरकारको निर्देशन अनुरुप अब लिने बाँकी शुल्कमा समायोजन गर्ने बताएका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुले आगामी दिनमा शिक्षा मन्त्रालयको नीति नियम निर्देशन पालना गर्नसमेत आफूहरु कटिबद्ध रहेको भन्दै नेपाली विद्यार्थी नेपालमै पढ्न पाउने वातावरण बनाउन समेत आग्रह गरेका छन् ।

सोमबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क आजसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button