तपाईँ सुन्दै हुनुहुन्छः

साग बिच भलिबल : स्वर्ण पदकको आश

काठमाडौं।यही मङ्सिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औँ संस्करणको दक्षिण एशियाली खेलकूद(साग) मा बिच भलिबल खेल पहिलोपटक समावेश गरिएको छ ।

पोखरास्थित फेवाताल किनारको बाराहीघाटमा हुने प्रतियोगितामा सहभागी राष्ट्रका लागि प्रतियोगिता पहिलो अनुभव रहनेछ । बालुवा बिछ्याइएको भलिबल कोर्टमा खेल हुने भएकाले यसलाई बिच भलिबल भनिएको हो । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई कास्यका लागि भूटानबाहेकका छ देशले पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता मङ्सिर १९ देखि शुरु हुँदैछ ।

प्रतियोगिताको तयारीका लागि पुरुष तथा महिला नेपाली राष्ट्रिय टोली गएको असार १५ देखि प्रशिक्षणमा रहेको छ । गत असार ५ देखि ९ गतेसम्म पोखरामा छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना गरेर सागका लागि खेलाडी छनोट गरिएको थियो ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाल पदक जित्नेमा दृढ देखिएको छ । सहभागी देशमध्ये श्रीलङ्का, माल्दिभ्स र भारतलाई पदकको सबैभन्दा बढी दावेदार मानिए पनि घरेलु मैदान र दर्शकको फाइदा लिँदै पहिलोपटक समावेश खेलमा स्वर्ण जितेर इतिहास रच्ने नेपालको लक्ष्य छ ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा १० दिनको बन्द प्रशिक्षण गरेको थियो । त्यसक्रममा त्यहाँको राष्ट्रिय टोलीसँगको चार मैत्रीपूर्ण खेलमा नेपाली टोलीले एकमा जित निकालेको थियो । नेपाली टोलीका प्रशिक्षक सुदेश रिमालले होम ग्राउन्डको फाइदा उठाउँदै स्वर्ण जित्ने गरी तयारी भइरहेको बताउनुभयो ।

आफ्नै देशमा भएको प्रतियोगिताले खेलाडीको मनोवल बढेपनि प्रतियोगितास्थलमा अभ्यास गर्न नपाइएको बताउँदै उहाँले भन्नुभयो, “होम ग्राउन्ड र दर्शककोे हामीलाई फाइदा छ तर हामीले आफ्नै मैदानमा अभ्यास गर्न पाएका छैनौँ । एक दुई दिन भएपनि अभ्यास गर्न पाइन्छ कि ?”

आफूहरुलाई अहिले पनि खेल्ने मैदानको नै समस्या रहेको प्रशिक्षक रिमालले उल्लेख गर्नुभयो । नेपाली टोलीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार तथा सञ्जय शाह र राजु विकको जोडी रहेको छ ।

महिला टोलीका प्रशिक्षक कौशिल्ला कार्की पनि खेलाडीका लागि अभ्यासस्थल तयार नभएकोमा चिन्तित हुनुहुन्छ । एक दुई दिनमा मैदान तयार हुने जानकारी पाएको बताउँदै उहाँले बाँकी समयमा प्रतियोगितास्थलमा अभ्यास गरेर आफू अनूकूलको नतिजा निकाल्नेमा उहाँ दृढ हुनुहुन्छ ।

ओलम्पिकमा सहभागिता जनाइसकेको श्रीलङ्का बलियो टोली रहेको बताउँदै प्रशिक्षक खत्रीले भन्नुभयो, “श्रीलङ्कामा अभ्यास गरेर उनीको सवल र दुर्वल पक्ष थाहा पाएका छौँ र प्रतियोगिताका लागि सोहीअनुसार रणनीति बनाउँछौँ ।” महिला टोलीले श्रीलङ्कामा अभ्यास गर्दा राष्ट्रिय टिमसँगको एक मैत्रीपूर्ण खेल गुमाएको थियो । कोपिला उप्रेती र मनिषा चौधरी तथा विनिता बुढाथोकी र नेविका चौधरीको महिला टोली रहेको छ ।

नेपाल भलिबल सङ्घका जिल्ला अध्यक्ष भीम पराजुलीले बिच भलिबलका लागि मैदानमा बालुवा राख्नमात्र बाँकी रहेकाले एक÷दुई दिनमा अभ्यासका लागि खेलाडीलाई उपलब्ध गराइने बताउनुभयो ।

तोकिएको मितिभन्दा ढिलाइ भएको स्वीकार गर्दै उहाँले नेपाली टोलीले अभ्यासका लागि एक साता समय पाउने उल्लेख गर्नुभयो । बिच भलिबलका लागि आयोजक नेपालसहित भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशबाट पुरुष र महिलाको दुई÷दुई टोली गरी एक देशबाट आठ जनाको दरले खेलाडी सहभागी हुँदैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button