तपाईँ सुन्दै हुनुहुन्छः

लोप हुँदै नौमती बाजा 

डोटी- नेपाली लोकसंस्कृति झल्किने सुदूरपश्चिम प्रदेशको ख्यातिप्राप्त नौमती बाजा लोप हुने खतरामा परेको छ । आधुनिकतासँगै अन्य बाजाको प्रभाव र परम्परागत रुपमा बाजा बजाउनेको पेशालाई संरक्षण गर्न नसकिँदा अहिले यो बाजा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् ।

दुई दमाहा, दुई टयाम्को, नरसिंहा, सनाई, मजुरा, झ्यालिसँगै राखेर बाजाहरु मिलाएर कम्तीमा पनि १०÷११ जनाको समूहले बजाउने बाजाहरु विगतको जस्तो अहिले विरलै देख्न र सुन्न पाइन्छ । एकै किसिमका पोसाक लगाएर बाजाको तालसँगै लामबद्ध तरिकाले नाचिने हुनाले सुदूरपश्चिम प्रदेशमा यो बाजाको रौनक तथा नाच निकै रमाइलो मानिन्छ । यो बाजा बजाउने समूहमा एकजना मुख्य नाइके हुन्छन् भने अन्य दश जना सहयोगीका रुपमा रहन्छन् ।

नौमती बाजालाई यहाँको प्रदेशमा पञ्चेबाजासमेत भन्ने गरिन्छ । बाजा लोप हुँदै जान थाले पनि बाजा संरक्षणमा कसैले पनि पहल नगरेको जोरायल गाउँपालिका–५ गड्सेराका स्थानीय तथा पञ्चेबाजा बजाउनमा पोख्त धनीराम नेपालीले बताउनुभयो । विगतमा कुनै शुभसाइतमा यो बाजा खोज्ने गरिन्थ्यो तर अहिले यो प्रचलन हराएका कारण संस्कृति नै लोप हुने खतरा बढेको शिखर नगरपालिका–१ गुठेउडीका नौमती बाजा बजाउने अर्का स्थानीयवासी हरि दमाईंले बताउनुभयो ।

नौमती बाजा लोप हुँदै जान थालेपछि यी बाजा बजाउनेहरु पनि अन्य आधुनिक बाजा बजाउने तथा नयाँ पेशालाई अँगाल्न थालेको स्थानीय बूढापाकाहरु बताउँछन् । दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्रबहादुर खड्काले पुरानो चिनारीका रुपमा रहेको बाजा लोप हुन थालेकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

बजारमा भित्रिएका आधुनिक बाजा तथा संस्कृतिका कारण अहिलेका पुस्ताले पञ्चे तथा नौमती बाजा अँगाल्न नखोज्दा यसले प्राथमिकता नपाएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, अछाम, बझाङ, दार्चुला, बाजुरा र डोटीका गाउँघरमा पहिला पहिला बजाइने यो बाजा आधुनिक बाजा भित्रिएपछि लोप हुने खतरामा परेको हो ।    रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button