तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका समाचारलाई उच्च प्राथमिकता दिन निर्वाचन आयोगको आग्रह

तस्बिर: कविता थापा

काठमाडौँ – निर्वाचन आयोगले मङ्सिर १४ गते हुने उपनिर्वाचन सम्बन्धी गतिविधिको प्रचार प्रसार एवम् समाचार संप्रेषणमा सहयोग गर्न आम सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको संयोजकत्वमा आयोगमा आज बसेको बैठकले उपनिर्वाचनको समग्र सूचना, सन्देश, समाचार उच्च प्राथमिकताका साथ संप्रेषण गर्न आम सञ्चारमाध्यमलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निजी सञ्चार माध्यममार्फत  निर्वाचन आयोगबाट सरोकारवाला समक्ष संप्रेषण गर्नुपर्ने सूचना तथा जानकारीलाई प्रकाशन, प्रशारण तथा संप्रेषण गर्न गराउन आवश्यक समन्वय र सहजीकरण गर्न निर्देश गरेको छ ।

आयोगले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमलाई अनिवार्य रुपमा उच्च प्राथमिकताका साथ आयोगले प्रवाह गरेको सूचना, सन्देश, बैठकका निर्णय, विज्ञप्ति, मतदाता शिक्षा तथा उपनिर्वाचनसँग सम्बन्धित गतिविधिका समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ ।

बैठकले नेपाल दुरसञ्चार प्राधिकरणबाट नेपाल टेलिकम तथा अन्य सेवा प्रदायक संस्थाहरूसँग आवश्यक समन्वय गरी उपनिर्वाचन हुने जिल्ला, स्थानीय तह र मतदान केन्द्रहरूमा टेलिफोन तथा मोवाइल सेवा नियमित गराउन र नियमित अनुगमन गरी कुनै समस्या उत्पन्न भए तत्काल समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले उपनिर्वाचन हुने स्थान तथा केन्द्रमा मङ्सिर ११ गतेदेखि निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म टेलिकमका सुविधा अटुट रुपमा उपलब्ध गर्न गराउन नेपाल टेलिकमलाई सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएको छ ।

बैठकमा निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल र इश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव देव कुमारी गुरागाँइ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी, नेपाल दुर सञ्चार प्राधिकरणका अध्यक्ष, सूचना तथा प्रसारण विभागका निर्देशक, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष, रेडियो नेपालका नावय कार्यकारी निर्देशक, नेपाल टेलिभिजनका महाप्रवन्धक, गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष, नेपाल टेलिकमका प्रवन्ध निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button