तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जामा थप लगानीका लागि मन्त्री पुनको आग्रह

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरुका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

चीनको युनान प्रान्तका गभर्नर रुएन चेङगफासँग आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

“नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ । यस प्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहनसमेत गर्नेछ भन्ने मेरो विश्वास छ”, मन्त्री पुनले भन्नुभयो ।

नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आउनुभएका गभर्नर चेङगफा नेतृत्वको आठ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो । छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको थियो । मन्त्री पुनले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत् परियोजनामा पनि लगानी गर्न आग्रह गर्नुभयो ।

“तामाकोशी तेस्रो जलविद्युत् परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताको सङ्ख्या धेरै छ”, मन्त्री पुनले भन्नुभयो । उहाँले सरकारले जलविद्युत्को क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युत्मा थप लगानीका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

मन्त्री पुनले भन्नुभयो, “हामीले जलविद्युत् क्षेत्रमा लचिलो नीति लिएका छौँ, पहिलो दश वर्षमा आयकरसमेत छुट हुने प्रावधान छ । नेपालभित्र खपतका लागि बजारको विस्तार पनि हुँदै गएको छ । भारत, कोरिया, चीन लगायतका देशबाट पनि लगानीकर्ता आइरहेका छन् । हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौँ ।”

बङ्गलादेश र भारतमा विद्युत् व्यापारका लागि ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाइ थियो । उहाँले चार वर्षभित्र पाँच हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिँदै नेपालले जलविद्युत्को क्षेत्रमा आमूल प्रगति भइरहेको बताउनुभयो । मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणका लागि सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

भेटमा युनान प्रान्तका गभर्नर चेङगफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

गभर्नर चेङफाले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना शुरुआत मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने धारणा राख्नुभयो ।

उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौँ–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसँगै युनान प्रान्त र नेपालको व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । युनान प्रान्तका गभर्नरले कुनमिङमा आयोजना हुने ‘कुनमिङ साउथ एशिया एक्स्पो’मा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणासमेत दिनुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button