तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यअनुसारको प्रगति हासिल हुने गरी अघि बढ्न मातहतका निकायलाई मन्त्री बाँस्कोटाको निर्देशन

फाइल तस्बिर

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लक्ष्य अनुसारको प्रगति हासिल हुने गरी अघि बढ्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आज भएको मन्त्रालयस्तरीय प्रथम चौमासिक प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा मन्त्री बाँस्कोटाले दोस्रो चौमासिकसम्म तोकिएको लक्ष्य पूरा गर्न नसके मन्त्रालय र मातहतका निकायको मूल्याङ्न त्यहिबाट सुरु हुने बताउनुभयो ।

उहाँले काबु बाहिरको परिस्थिति बाहेक लक्ष्य अनुसार काम सम्पन्न नभए कारण र प्रष्टिकरणसहित प्रत्येक महिना लिखित जवाफ मागिने स्पष्ट पार्नुभयो ।

बैठकपछि सचिव दीपक सुवेदीले पहिलो चौमासिकको प्रगति सन्तोषजनक रहेकाले यसपछिका चौमासिकहरुमा थप रफ्तारका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सबैले प्राथमिकतालाई ध्यान दिन र केही समस्या देखिए लिखित जानकारी गराए समाधानका लागि मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय योजना आयोगका सहसचिव किरण रुपाखेतीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सवै निकायलाई पूजिंगत खर्च बढाउँदै लैजान र अन्तरमन्त्रालय तथा निकायको समान्वयलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

बैठकमा मन्त्रालय र मातहतका निकायले पहिलो चौमासिक विनियोजित बजेट र मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकले यसअघि गरेका निर्णयमा भएको प्रगतिका बारेमा समिक्षा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button