तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वाभिमानको पक्षमा एकतावद्ध हुन सम्पूर्ण कलाकार एंव सस्कृतिकर्मीहरूलाई आग्रह

काठमाडौँ – सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान नेपालले देशको अखण्डता र राष्ट्रिय स्वाभिमानको पक्षमा एकतावद्ध हुन सम्पूर्ण कलाकार, साहित्यकार तथा सस्कृतिकर्मीहरूलाई आग्रह गरेको छ ।

अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी भारत सरकारले हालै प्रकाशन गरेको नक्शामा समेटिएको नेपाली भू–भाग फिर्ता गराउने अभियानमा सहभागी हुन स्वदेश तथा विदेशमा रहेका कलाकार एवं सास्कृतिकर्मीहरूलाई आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक खगेन्द्र राईले अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने तथा साहित्य, नाटक, गीत लगायतको माध्यमबाट राष्ट्रिय स्वाधिनता एवं अखण्डताको पक्षमा जनमत सिर्जना गर्ने कार्यक्रम निर्धारण गरेको बताउनुहुँदै सम्पूर्ण साहित्यकार, कलाकार एवं सस्कृतिकर्मीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।

अभियानले यही मङ्सिर ९ गते काठमाडौँस्थित भारतीय दूतावासमा बिरोधपत्र बुझाउने कार्यक्रमसमेत तय भएको संयोजक राईले बताउनुभयो ।

अभियानमा जन सांस्कृतिक महासङ्घ नेपाल, नेपाल सांस्कृतिक सङ्घ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासङ्घ आवद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button