तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन २०७६ : सुरक्षा व्यवस्था चुस्त 

दाङ – आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपनिर्वाचनका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि २२ स्थानमा अस्थायी सुरक्षा क्याम्प पनि राखिने भएको छ ।

उहाँले निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था गरी पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेनाले सुरक्षा गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । निर्वाचनको अवधिभर उम्मेदवार, उम्मेदवारको घर, प्रचारप्रसारका लागि राखिएका सम्र्पक कार्यालय, प्रचार अभियान तथा पार्टी कार्यालय सबैको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि प्रजिअ रिजालले जानकारी दिनुभयो ।

त्यस्तै सबै मतदानस्थलमा सुरक्षाकर्मीले सवारी साधन प्रयोग गरेर सुरक्षा गस्ती गर्नेछन् । सुरक्षा गस्तीका लागि २६ वटा सवारी साधन प्रयोग गरिनेछ । निर्वाचन हुने क्षेत्र दाङ निर्वाचन क्षेत्र नं ३ को २ र घोराही उपमहानगरपालिका–१६ मा अहिले पनि सुरक्षाकर्मीले गस्तीलाई तीव्र पारेका छन् ।

निर्वाचनलाई स्वतन्त्र मर्यादित बनाउन र मतदाताहरुलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाउनका लागि आफूहरु गम्भीरका साथ लागिपरेको प्रजिअ रिजालले बताउनुभयो । उहाँले सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात तथा सञ्चारको सुविधा नपुगेका र विगतका चुनावमा घटेका घटनालाई मध्यनजर गरी सुरक्षा संवेदशीलतालाई विश्लेषण गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको पनि उल्लेख गर्नुुभयो ।

प्रजिअ रिजालका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही उपमहानगरपालिका वडा नं १६ मा ३४ वटा मतदानस्थल निर्धारण गरिएकामा २६ वटा मतदानस्थल संवेदनशील, छ वटा स्थल अति संवेदनशील र दुईवटा स्थल सामान्य रहेको विश्लेषण गरिएको छ ।

यसैबीच प्रजिअ रिजालको टोलीले हिजो विकट स्थानका रुपमा रहेको गङ्गटे, बाघखोर मतदानस्थलको निरीक्षण गर्नुभएको थियो । टोलीमा जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

उपनिर्वाचनका लागि ४०० भन्दा बढी कर्मचारी खटिने भएका छन् । यहाँका दुई स्थानमा हुने निर्वाचनका लागि कूल ३४ मतदानस्थलमा ८२ मतदान अधिकृत र ८२ सहायक मतदान अधिकृत, १६४ सहायक कर्मचारी र ८२ जना सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यस्तै ३२६ स्वयम्सेवक पनि परिचालन हुनेछन् । निर्वाचनमा खटिने कर्मचारीहरुलाई आजदेखि दुई दिनसम्म प्रशिक्षण दिने मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button