तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा बस्यालको निधनप्रति दुःख व्यक्त   

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटी सदस्य दयाराज बस्यालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज शोक विज्ञप्ति जारी गर्दै समाज परिवर्तनका लागि गर्नुभएको योगदानको उच्च प्रशंसा गर्दै कम्युनिष्ट आन्दोलनको एक सशक्त योद्धाका रुपमा क्रियाशील रहनुभएका बस्यालको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले उहाँको निधनले शोकमा पर्नुभएका परिवारजन र आफन्तमा समेत गहिरो समवेदना प्रकट गर्नुभएको छ । वगनासकाली गाउँपालिका यम्धा निवासी ६७ वर्षीय उहाँको गत विहीबार निधन भएको हो ।

प्रधानमन्त्री ओलीले वस्याल एक असल, इमान्दार र निष्ठावान नेताका रुपमा पार्टीपङ्क्ति र बाहिर स्थापित रहनुभएको जनाउनुभएको छ ।

पञ्चायती व्यवस्थालाई उपयोग गरी लोकतान्त्रिक आन्दोलन अघि बढाउने पार्टी राजनीतिक नीतिअनुसार सक्रिय रहँदा उहाँ जनपक्षीय नेताका रुपमा पाल्पामा स्थापित रहनुभएको विज्ञप्तिमा उल्लेख छ । पाल्पामा शिक्षक आन्दोलनको नेतृत्व गर्दा तत्कालीन पञ्चायती व्यवस्थाले उहाँलाई सेवाबाट निलम्बन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button