तपाईँ सुन्दै हुनुहुन्छः

गरिबको चन्दाले सरकारी विद्यालय सञ्चालन 

जाजरकोट, ७ मङ्सिर-    नलगाड नगरपालिका–१ को शिवशङ्कर आधारभूत विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी छैन । पहाडी जिल्लामा ४५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान भए पनि शिवशङ्करमा भने धेरै त्यो अभाव पूरा हुन सकेको छैन ।

सरकारी तलबबाट उपलब्ध गराएको शिक्षक दरबन्दी अपुग भएपछि अभिभावक मिलेर चन्दा सङ्कलन गरी निजी स्रोतबाट शिक्षक भर्ना गरेर आफ्ना बालबालिका पढाइरहेका छन् । विद्यार्थी सङ्ख्या बढी तर शिक्षकको सङ्ख्या न्यून भएपछि शिक्षण कार्य नै समस्यामा परेको भन्दै स्थानीयवासीले रकम सङ्कलन गरी विद्यालय सञ्चालन गरिएको वडाध्यक्ष हिरालाल पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अभिभावकसँग सहकार्य गरेर विद्यालय सञ्चालन गर्नु परेको छ, उहाँहरुले घरमा खाद्यान्न, पशु चौपाया बिक्री गरेर आर्जन गरेको पैसा नै चन्दा दिनुहुन्छ र छोराछोरी पढ्न पाएका छन् ।” प्रावि तहको शिक्षकले निमावि तहसम्म पढाउँदा दैनिक समस्या भएको र शैक्षिक गुणस्तर कायम गर्न धौधौ परेको अभिभावक बताउँछन् ।

विद्यालय व्यवस्थापन समितिले बोलाएको अभिभावक भेलाबाट शुक्रबार मात्र रु ९८ हजार रकम उठेको अध्यक्ष पुनले बताउनुभयो । अझै अभिभावक रकम दिनका लागि विद्यालयमा आउने क्रम जारी रहेको छ ।

त्यस्तै नलगाड नगरपालिका–३ कैनास्थित सूर्योदय माध्यमिक विद्यालयमा २७१ विद्यार्थी पढ्छन् । प्रावि र निमावि तहमा भएका सरकारी दरबन्दी चार शिक्षक कार्यरत हुनुहुन्छ । विद्यार्थी सङ्ख्याका आधारमा करीब सात शिक्षक आवश्यकता रहे पनि अहिले निमावि दुई र प्रावि तहका दुई गरी चार जनाले मावि तह सञ्चालन हुँदै आएको हो ।

विगत लामो समयदेखि स्थानीयवासीले चन्दा सङ्कलन गरी दुई निजी स्रोतबाट तलब, भत्ता उपलब्ध गराउँदै मावि तहमा दुई शिक्षक राखेर विद्यालय सञ्चालन गरिरहेको वडाध्यक्ष प्रचण्ड ओलीले जानकारी दिनुभयो ।

तिहारमा मात्र स्थानीय युवाले देउसीभैलो खेलेर जम्मा गरेको रु दुई लाख ६० हजार ५०० विद्यालयका शिक्षकलाई तलब, भत्ताका लागि जम्मा गरेका थिए ।

यसरी महिनैपिच्छे यहाँका अभिभावक शिक्षकलाई तलब, भत्ता उपलब्ध गराउनका चन्दा सहयोग गर्दै आएका छन् । स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकारबाट आएका भौतिक पूर्वाधार, विकास निर्माणका काम स्थानीयवासीले श्रमदान गरेर सो रकम बचाई विद्यालयमा शिक्षकलाई तलबभत्ता उपलब्ध गराउने अभ्याससमेत हुँदै आएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माविमा विद्यार्थीको मात्रा धेरै तर शिक्षक दरबन्दी कम हुँदा स्थानीयवासीले रकम सङ्कलन गरेर विद्यालय सञ्चालन गरिरहेका छन् । तीन सयभन्दा बढी विद्यार्थी रहेको सो विद्यालयमा दुई शिक्षक निजी स्रोतबाट राखी मावि तह व्यवस्थापन गरिएको छ । मावि तह सञ्चालन रहेको सो विद्यालयमा मावि तह पढाउने शिक्षकको दरबन्दी शून्य हुँदा निजीबाट व्यवस्थापन गरिएको हो ।

बारेकोट गाउँपालिका–५ सिलिगीचौरस्थित सरस्वती मावि सञ्चालन गर्न निजी स्रोतबाट तलबभत्ता दिने गरी शिक्षक व्यवस्थापन गरिएको प्रधानाध्यापक मनबहादुर सिंहले जानकारी दिनुभयो । सरकारी दरबन्दी उपलब्ध नहुँदा बाध्य भएर स्थानीयवासीले छोराछोरी पढाउनकै लागि आफैँ तलबभत्ता उपलब्ध गराउँदै आएका छन् ।

जाजरकोटका अधिकांश ठाउँमा रहेका विद्यालय स्थानीयवासीले दिएको चन्दाको भरमा सञ्चालन भएको पाइएको छ । आर्थिक रुपमा पछि परेका र पारिएका समुदायका स्थानीयवासी आफँै चन्दा उठाएर सरकारी विद्यालयमा बालबालिका पढाउन बाध्य छन् ।

जाजरकोटमा २६ मावि, ४६ निमावि र ५५ प्राविमा दरबन्दी शून्य रहेको छ । चार सय ४३ विद्यालयमध्ये १२७ विद्यालय दरबन्दीविहीन भई स्थानीयवासीले चन्दा उठाएर विद्यालय सञ्चालन गरिरहेका छन् । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लामा भारी मात्रामा शिक्षक अपुग भएको खबरले आफ्नो ध्यानाकर्षण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षामन्त्रीसँग थप दरबन्दीका विषयमा कुरा भइरहेको छ, हामी छिट्टै समस्या हल गर्ने दिशामा पुगेका छौँ”, अहिले स्थानीय तहले उपलब्ध गराउँदै आएको अनुदान समयमा बजेट निकासा नहुँदा शिक्षक पीडामा रहेको पाइएको छ । वर्षभरिको तलब एकै पटक उपलब्ध गराउँदा शिक्षकहरु पीडित हुनुपरेको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button