तपाईँ सुन्दै हुनुहुन्छः

प्रभावकारी बन्यो ‘कृषकसँग घरदैलो’ कार्यक्रम

बेझाड । व्यावसायिक कृषिमा आकर्षित गराउन कृषि शाखा रामपुरले शुरु गरेको कृषकसंँग घरदैलो कार्यक्रम प्रभावकारी बनेको छ । निर्वाहमुखी कृषकलाई व्यावसायिक तवरबाट खेती गर्ने नयाँ प्रविधि सिकाउन शाखाले कृषकसँग घरदैलो कार्यक्रम सञ्चालन गरेको हो । यो कार्यक्रमले कृषकमाझ लोकप्रियता पाएको छ ।

कृषि शाखा कार्यालय रामपुरले कृषक तथा समूहसँग घरघरमा भेटघाट गर्ने, खेती गर्ने नयाँ प्रविधि सिकाउने गरेको छ । कृषकलाई व्यवसायमा हौसला दिँदै उत्पादन बढाउन कृषकको खेतबारीमै पुगेर आधुनिक प्रविधिबारे जानकारी दिने गरेपछि व्यावसायिक तरिकाबाट खेती गर्न थालिएको छ ।

कृषकको समस्यालाई मध्यनजर गर्दै शाखाले कृषकसँग घरदैलो कार्यक्रम सञ्चालन गरेको प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । “कृषकलाई कार्यालयमा बोलाएर तालीम दिँदा आउन जानको झमेला, समय बर्बादी हुने भएपछि हामी आफँै कर्मचारी नै कृषकको घरदैलो, खेतबारीमै पुगेर तालीम दिने, नयाँ प्रविधिबाट खेती लगाउन सिकाउने गरेका छौँ”, शाखा प्रमुख पाण्डेयले भन्नुभयो ।

शाखाले रामपुर नगरपालिकाभित्रका कृषि समूह, सहकारीमा आबद्ध कृषकलाई सामूहिकरुपमा तालीम दिइरहेको छ । समूहबाहेकका कृषकलाई पनि घर घरमा तथा खेतबारीमै पुगेर स्थलगत तालीम दिने गरेको छ । स्थलगत तालीम, आधुनिक प्रविधिबाट खेती लगाउने तरिका, तरकारी तथा अन्नबाली, फलफूल खेतीमा लाग्ने रोग किरा, निराकरणका उपाय सम्बन्धमा जानकारी दिने गरेको शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो ।

शाखा कार्यालयमा कार्यरत चार प्राविधिक कर्मचारी कार्यालय समयबाहेक बिहान साँझ घरदैलोमा खेती लगाउने प्रविधिसम्बन्धी काम सिकाउनमै व्यस्त छन् । प्राविधिक खेतबारीमा आएर सेवा दिन थालेपछि व्यावसायिक कृषिमा लागेको कँडेलबारी कृषक समूहका अध्यक्ष सीता भण्डारीले बताउनुभयो । उहाँले घरदैलोमै आएर प्राविधिकले सेवा दिन थालेपछि समूहमा तरकारी खेती शुरु गरेको बताउनुभयो ।

“कृषिका तालीम आएमा सधैँजसो एउटै व्यक्तिले पाइरहन्थे, सोधपुछका लागि पनि सधँै कार्यालय जान भ्याइँदैनथ्यो, अहिले प्राविधिक आफैँ घरघरमा खेतबारीमै आएर तालीम दिने गरेपछि व्यवसायमा हौसला मिलेको छ”, उहाँले भन्नुभयो ।

कार्यालयमै तालीम दिँदा कतिपयले अवसर नपाउने र कतिपय कामको व्यस्तताले जान नभ्याउनेका लागि यसरी स्थलगत रुपमा नै दिइएको तालीम प्रभावकारी बनेको छ । कृषकलाई अनुदानभन्दा पनि खेती गर्ने प्रविधि घरदैलो खेतबारीमा पाइयो भने राम्रो उत्पादन लिन सकिने हाम्रो आधुनिक कृषिफार्म रामपुर–४ का कृषक दिलबहादुर थापाले बताउनुभयो ।

“अनुदान कार्यक्रम धेरैजसो टाठाबाटाले मात्र लिने गरेको पाइएको छ, वास्तविक कृषक सधँै पछाडि परिरहेका छन्, अनुदानभन्दा कृषकको खेतबारी, घरघरमा यसरी नै नियमित प्राविधि परिचालन भए कृषिबाटै सबै कृषक आत्मनिर्भर बन्नेछन्”, उहाँले भन्नुभयो । शाखा कार्यालयमा दर्ता भएका ८५ कृषक समूह छन् । शाखाले सबै समूहमा पालैपालो कृषक भेटघाट तथा स्थलगत तालीम दिइरहेको छ ।

आलु, केरा, गोलभेँडा, मौसमी तथा बेमौसमी तरकारीखेती, धान बालीलगायत विभिन्न बालीनालीसम्बन्धी तालीम दिने गरिएको छ । शाखा प्रमुख पाण्डेय, प्राविधिक प्रज्ज्वल केसी, सुशील अधिकारी र सपना खड्कासहितको टोलीले विभिन्न बालीनाली सम्बन्धमा स्थलगत तालीम दिने गरेको शाखाले जनाएको छ । यसभन्दा अगाडि कार्यालयमा नै समूह तथा कृषकलाई बोलाएर विभिन्न बाली लगाउने समयमा तालीम दिने गरिन्थ्यो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button