तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाको संगठन विभागमा तीन सदस्य थप गर्ने निर्णय

काठमाडौं । बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले संगठन विभागमा तीन जना थप गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बालुवाटारमा बसेको बैठकले विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो  ।

नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन समेत दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न सचिवालयले भनेको हो ।।

जहाँ निर्वाचन क्षेत्रीय कमिटी बनेको छैन, त्यहाँ जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न भनिएको छ । प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने नेकपाको निर्णय छ ।

यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ । वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button