काठमाडौं । विश्वकप छनोट अन्तर्गत नेपालको राष्ट्रिय फुटबल टिमले आज जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ ।नेपालले छनोट प्रतियोगिताको चौथो खेलमा जोर्डनसंग प्रतिस्पर्धा गर्न लागेको हो ।खेल जोर्डनको अम्मान रंगशालामा हुनेछ ।विश्वकप छनोट अन्तर्गत सन् २०११ को अक्टोबरमा भएको खेलमा नेपालले सोही रंगशालामा जोर्डनसंग ९–० को हार ब्यहोरेको थियो ।नेपाल त्यही रंगशालामा पुन एक पटक जोर्डनसंग विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ ।जोर्डनविरुद्व करिब ८ बर्ष अघि नेपाली टिमबाट खेलेका तीन खेलाडी अझैपनि राष्ट्रिय टिममा छन् ।
गोलकिपर किरण चेम्जोङ, रोहित चन्द र सुजल श्रेष्ठले पुन दोस्रो पटक घरेलु टोली जोर्डनसामु चुनौती पेश गर्नेछन् ।फिफा वरियतामा नेपाल भन्दा ६३ स्थानमाथि रहेको जोर्डन बलियो टिम हो । घरेलु मैदानमा जोर्डनले करिब ८ बर्षको प्रभाव पुन देखाउन खोज्नेछ ।तर पछिल्लो समय प्रर्दशनमा क्रमिक सुधार गर्दै आएको नेपालको फुटबल टिम घरेलु टोलीविरुद्व कम्तिमा अंक खोस्ने प्रयासमा हुनेछ ।जोर्डनले समुह चरणको पहिलो खेलमा चाईनिज ताईपेलाई २–१ ले हराएको थियो भने कुवेतसंग बराबरी खेलेको थियो ।