तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो   

फाइल तस्बिर

गलेश्वर –  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो ।

स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उहाँको भनाइ छ ।

यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै रहेको खयर बाराही मन्दिर हो । खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ ।

धिमेबाजा संरक्षणमा नेवार समुदाय    
म्याग्दीको सदरमुकाम बेनीका नेवार समुदायका युवायुवती माङ्गलिक कार्यमा प्रयोग गरिने लोपोन्मुख धिमेबाजाको संरक्षणमा जुटेका छन् । बेनीबजारमा विभिन्न सार्वजनिक तथा उत्सव, चाडपर्वमा बाँसुरी, मादल र झ्यालीको प्रयोग गरि मङ्गल धुन, धिमे बाजा र झ्यालीमा नेवार समुदायका युवायुवतीदेखि वृद्धवृद्धा सक्रिय हुने गरेका छन् ।

‘धिमे बाजां’ नेवार समुदायमा शोकबाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा भएको नेपाल भाषामंकाःखलअन्तर्गतको ल्याम पुचःका अध्यक्ष सवीन श्रेष्ठले बताउनुभयो । धिमे बाजा र बाँसुरी बादनसम्बन्धी प्रशिक्षणसमेत दिइएको बताउँदै पछिल्लो समय युवापुस्ताको आर्कषण बढ्दै जान थालेपछि सहज भएको उहाँको भनाइ छ ।

आफ्नो भाषा र संस्कृति लोपोन्मुख अवस्थाबाट जोगाउन आवश्यकताअनुसार काठमाडौँबाट प्रशिक्षकसमेत बोलाएर तालीम दिएपछि सक्रियता बढेको उहाँको भनाइ छ । नेवार समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् ।

तत्कालीन समयमा काठमाडौँ र भक्तपुरे नेवार समुदायमा पुरुषले मात्रै धिमे र बाँसुरी बजाउने चलन रहेको अवस्थामा पछिल्लो समय महिलाले समेत नियमित बजाउन थालेपछि सहज भएको छ ।

बेनीको कला र संस्कृतिको अधिकांश हिस्सा नेवार समुदायले धानेको छ । बेनीमा विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीले नै रहरलाग्दो गरी बाँसुरी बजाउन थालेपछि नेवार समुदायका अगुवा उत्साहित भएका छन् ।

नेवार समुदायमा बुबाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दशैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button