तपाईँ सुन्दै हुनुहुन्छः

जापानमा हागिबिसका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

टोकियो  – जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको हागिबिस नामक तुफानका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको जापानी अधिकारीले आइतबार बताएका छन् । आँधीपछि करिब १५ जना हराइरहेका बताइएको छ ।

आँधीसँगै भएको बर्षाका कारण कैयौँ नदीहरूमा बाढी आएको र नदीको पानी वस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो ।

“आँधीका कारण तीन लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,” चिफ क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले बताउनुभयो ।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्तीहरू डुवानमा परेका छन् ।

सरकारले आँधीपछि २७ हजार स्वयम्सेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ । भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा वाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ ।

स्थानीयहरूले आँधी विगत ५० बर्ष यताकै शक्तिशाली भएको बताएका छन् । आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ । अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन् ।

मन्त्रालयका अनुसार कतिपय वस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्दारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन् ।

पसेका  नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुवानका कारण अवरूद्ध बनेका छन् । रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्वाहरूमा क्षति पुगेको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी बर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ । आइतबारसम्म तुफानको प्रभाव निकै कम भएको बताइएको छ ।

रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button