तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको सीको भ्रमण : लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने विश्वास

बुटवल, २५ असोज  –  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रपति सीले आफू नेपाल भ्रमणमा आउनु एक दिनअघि दिनुभएको सन्देशमा नेपाल चिनियाँका लागि दक्षिण एशियाको प्रमुख गन्तव्य हुने उल्लेख गर्नुभएकाले पनि लुम्बिनीप्रति आकर्षण थपिएको हो ।

राष्ट्रपति सीले बुद्ध धर्मको प्रचारप्रसार, प्रवद्र्धनसँगै लुम्बिनीको विकासमा चिनियाँ भूमिकाका विषयमा दिनुभएको सन्देशबाट पनि चिनियाँको नेपालमा अब प्रमुख गन्तव्य लुम्बिनी बन्नसक्ने बलियो सम्भावना देख्न सकिन्छ । राष्ट्रपति सीको नेपाल भ्रमण सिङ्गो मुलुकसँगै बुद्ध जन्मस्थल लुम्बिनीका लागि थप महत्वपूर्ण हुने देखिएको छ ।

यसको प्रमुख कारण करीब १६ सय वर्षअघि चिनियाँ महान् भिक्षु फाहियान र नेपाली महान् भिक्षु बुद्धभद्रले एकार्काको देशमा भ्रमण गरेर संयुक्तरूपमा बौद्ध धर्मका शास्त्रपद अनुवाद गरेको जनाउँदै बुद्ध धर्मको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँको यस्तो सन्देशले नेपाल र चीनबीचको हजारौँ वर्ष पुरानो सम्बन्धको महत्वलाई थप उजागर गरेको स्पष्ट देखिन्छ ।

यसका साथै राष्ट्रपति सीले महान् भिक्षु हुएन साङले शाक्यमुनिको जन्मस्थल लुम्बिनीको वर्णन आफ्नो यात्रावृत्तान्तमा लेखेको समेत उल्लेख गर्नुभएको छ । उहाँले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको र हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकार्काको देश भ्रमण गरेको स्मरण गर्नुभएको छ । राष्ट्रपति सीले भ्रमणअघि दिनुभएको सन्देशमा पहाड र नदीले जोडिएका युगौँदेखिका दुई मुलुकबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपतिको आजदेखि शुरु हुने नेपाल भ्रमणले विशेष महत्व राख्ने भएकाले उहाँको भ्रमणको चर्चा उत्सर्गमा पुगेको हो । राष्ट्रपति सीले गर्ने राजकीय भ्रमण नेपालका लागि गर्वको विषय बनेको छ । यो भ्रमण नेपाल र चीन दुवै देशका समाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध थप अभिवृद्धि गर्न महत्वपूर्ण मानिएको छ ।

उहाँको यो सन्देशले चिनियाँका लागि पर्यटकीय, औद्योगिक र व्यावसायिक लगानीको प्रमुख छनोट नेपाल बन्ने अपेक्षासमेत गरिएको छ । प्रदेश नं ५ त्यसमा पनि लुम्बिनीप्रति चिनियाँको चासो बढ्दो छ । प्रदेश नं ५ को विकासका लागि चिनियाँको यस क्षेत्रमा भ्रमण र प्रदेशका विभिन्न तहका व्यक्तिको चीन भ्रमणका कार्यक्रम र अनुभव आदानप्रदान बढ्दो अवस्थामा रहेकाले पनि चिनियाँ यस क्षेत्रप्रति आकर्षित रहेको मान्न सकिन्छ ।

प्रदेश सरकारका तर्फबाट करीब दुई महीनाअघि मात्र चिनियाँ सरकारको निमन्त्रणामा विभिन्न प्रान्तको भ्रमणबाट फर्कनुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी आफ्नो चीन भ्रमणका क्रममा चिनियाँसँगको छलफल र अन्तक्र्रियामा उनीहरु लुम्बिनीमा लगानी गर्न निकै आकर्षित रहेको बताउनुहुन्छ ।

उहाँले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रमा होटल, व्यवसायमा चिनियाँ लगानी भित्रिने र यसका लागि प्रदेश सरकारका तर्फबाट लगानीको वातावरणका लागि आवश्यक पूर्वाधार निर्माण गरिने बताउनुभयो । प्रदेश सरकारले उनीहरुलाई लुम्बिनी क्षेत्रमा धार्मिक, पर्यटन प्रवद्र्धनमा लगानी बढाउन आह्वान गरेको उहाँ बताउनुहुन्छ ।

लुम्बिनी भ्रमणमा आउने चिनियाँ पर्यटकको तथ्याङ्क हरेक वर्ष बढ्दो छ । चिनियाँ बुद्ध धर्म र लुम्बिनीप्रति निकै प्रभावित भएकाले उनीहरुको गन्तव्य लुम्बिनी हुने गरेको छ । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म १०५ देशका एक लाख नौ हजार ८९ जना तेस्रो मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यसमध्ये चिनियाँको सङ्ख्या १३ हजार ७९५ रहेको छ । यो सङ्ख्या लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकको तथ्याङ्कमा चौथो स्थानमा रहेको देखिन्छ ।

लुम्बिनी आउने पर्यटकको सङ्ख्या वार्षिक करीब २४ हजारभन्दा बढी छ । पर्यटक आगमनका हिसाबले यो सङ्ख्या तेस्रो वा चौथो स्थानमा रहे पनि चिनियाँ पर्यटकको खर्च गर्ने क्षमता बढी रहने गरेको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव इञ्जिनीयर सरोज भट्टराई बताउनुहुन्छ ।

लुम्बिनीको विकासका लागि चिनियाँको चासो बढ्दै गएको छ तर सरकारका तर्फबाट समन्वय र कार्यान्वयमा अलमल जस्तो अवस्थाले चिनियाँ लगानी सोचे जस्तो अझै भित्रिन नसकेको उहाँको बुझाइ छ ।

सीको नेपाल भ्रमण र यसअघि उहाँले दिनुभएको सन्देशमा लुम्बिनीको महत्वमा देखाउनुभएको चासोले लुम्बिनीले पर्यटन विकासमा ठूलो उपलब्धि हासिल गरेको उहाँ बताउनुहुन्छ ।

नेपाल भ्रमणअघि राष्ट्रपति सीले दिनुभएको सन्देशमा चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दै अझ बढी चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने भ्रमण वर्ष २०२० प्रदेश नं ५ का सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताउनुहुन्छ ।

ठूला र शक्तिशाली राष्ट्रका राष्ट्रपतिबाट भ्रमण वर्षमा आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने सन्देश दिनुले नै भ्रमण वर्षका लागि सुखद् र सकारात्मक भएको उहाँको भनाइ छ । यससँगै लुम्बिनीप्रति राष्ट्रपति सीको सन्देशले आगामी दिनमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुखद् हुने अपेक्षा गर्न सकिने सहसंयोजक नेपाल बताउनुहुन्छ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा अब हामीले लगानी गर्ने र बाह्य लगानी भित्र्याउने तथा पूर्वाधार निर्माणमा जोड दिनुपर्ने आवश्यकता रहेको भन्दै वातावरण बन्नसकेमा लगानीको कुनै समस्या नरहने उहाँ बताउनुहुन्छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button