तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण   

फाइल तस्बिर

रस अल आइन, सिरिया  – उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् ।

टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताउनु भएको छ ।

राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ ।

राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्वीटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो । यस आक्रमणको कारण हजारौं सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए । बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ । सो नगर कुर्द समूह वाइपीजीको नियन्त्रणमा थियो ।

ब्रिटिश विदेशमन्त्रीले टर्कीले गरेको यस हमलाप्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको छ । यस हमलाबाट सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा आइएसविरुद्ध मिलेका सफलता उल्टिने जोखिम उत्पन्न भएको उहाँले बताउनु भएको छ ।

बुधबार साँझमा स्थल आक्रमण शुरु भएको टर्की रक्षा मन्त्रालयले जानकारी दिएको छ । टर्की शुरु गरेको कारबाहीमा जतिसक्दो मानवीय रुपमा सञ्चालन भएन भने उनले देशको अर्थतन्त्रलाई ठूलो असर पारिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिनु भएको छ ।

यसबीच लामो समयदेखि राष्ट्रपति ट्रम्पका कट्टर समर्थक रहँदै आउनु भएका रिपब्लिकन नेता लिन्ड्से ग्राहमले यस मामिलामा ट्रम्पको आलोचना गर्नु भएको छ ।

सिरियाली उत्तरी प्रान्तमा शासन गरिरहेका कुर्दले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकलाई आग्रह गरेका थिए । उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रको प्रतिरक्षामा लाग्न सर्वसाधारणलाई आग्रह गरिरहेका जानकारी दिएका थिए ।
रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button