तपाईँ सुन्दै हुनुहुन्छः

सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर होऔं : प्रधानमन्त्री ओली

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ । बडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराउनुभएको छ । “यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नुछ । यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानका छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।”

प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता,सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु नहुने कुरामा बिशेष जोड दिनुभएको छ । “ छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ “ यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।”

प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैलाई आग्रह् गर्नुभएको छ । “हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “ हामी नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गर्दछु । ”

प्रधानमन्त्री ओलीले दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनः मिलनको चाड भएको उल्लेख गर्नुभएको छ । “दशैं आफन्तहरुको बीचमा, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताका साथ मनाइने चाड हो ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यो चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो । यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ । भव्यताका साथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरुलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button