तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म–गमगढी सडक हिलाम्य हुँदा यात्रुलाई सास्ती


जुम्ला – नाग्म–गमगढी राजमार्गको सिञ्जा सडकखण्डको अधिकांश ठाउँमा अत्यधिक हिलो र खाल्डाखुल्डीले यात्रुलाई यात्रा गर्न सास्ती भएको छ ।

सार्वजनिक गाडीहरु हिलोले त्यस ठाउँमा जान नमान्ने र गए पनि बीचमै फस्न सक्ने भएकाले दशँै मनाउन घर गएका यात्रुलाई सास्ती भएको हो ।

नाग्म–गमगडी राजमार्गको सिञ्जा र मुगु खण्डका धेरैजसो ठाउँमा हिलो र खाल्डाखुल्डीका कारण गाडी गुड्न नसक्दा दशैँमा घर जाने यात्रुलाई समस्या परेको स्थानीय डिल्ली तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रमा गाडीहरु दिनभरमा ३ किलोमिटर समेत गुड्न सकेका छैनन् । एक्स्काभेटरले गाडी तानेर सञ्चालन गर्ने सम्भावना पनि छैन । माथिल्लो सिञ्जा र मुगुका यात्रुहरु मध्यसिजामै अड्किएका छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्ड अनुसारको ग्राभेल नहुँदा यात्रुहरुलाई सास्ती भएको छ । हिलो नै त्यहाँको पनि मुख्य समस्या हो ।

ठेकेदारले बाटो बनाउन ढिलाइ गरेकाले यस्तो समस्या आइपरेको गाउँपालिकामा हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ग्राभेल गर्ने जिम्मा पाएको ठेकेदारले लापर्वाही गरेका कारण बाटो समयमा बन्न नसकेको हो । ९३ किलोमिटरको नाग्म–गमगढी सडकमध्ये नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि झण्डै ९ किलोमिटर मात्रै ग्राभेल भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त डिभिजन प्रमुख श्रवण कुमार महताराका अनुसार कामका लागि पटक पटक पत्राचार गरे पनि अटेर गरेकाले अब पनि नमानेमा कालोसूचीको तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार सिञ्जा क्षेत्रमा गाडी तान्न र खाल्डा पुर्न एउटा एक्स्काभेटर पठाइएको छ । तर विभिन्न भागमा हिलो र खाल्डा खुल्डी भएर गाडीहरु फसेकाले जावतजावतमा समेत समस्या भएको छ ।

हिम्दुङ्गथोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्की सम्मको १३ किलोमिटर सडक ७ करोड ९० लाख ९५ हजार १७७ रुपैया २५ पैसामा ग्राभिल गर्ने जिम्मा लिएको दशैँपछि काम सम्पन्न गर्ने सडक डिभिजन कार्यालयले जनाएको छ । थोदुङ्ग कन्सट्रक्सन प्रालिले जिम्मा पाएको बड्कीबाट आचार्यलिहीसम्मको साढे ४ किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button