तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री डा. खतिवडा र भारतका वित्तमन्त्रीबीच भेट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारका वित्त मन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा भेटवार्ता भएको छ ।

विश्व आर्थिक मञ्चको कार्यक्रमका क्रममा भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराउनु भयो ।

उहाँले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा समेत जानकारी गराउनु भएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा अगाडि नेपालमा मौज्दात रहेको ५ करोड भारुको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।

त्यस अवसरमा भारतका वित्तमन्त्री निर्मला सितारमणले नेपाल भारत बीचको सम्बन्ध सदियौंदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायतालाई बढाउने जानकारी गराउनु भयो ।

उहाँले भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतमा भारु नोट प्रचलनमा भएको बन्देज र भारु नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button