तपाईँ सुन्दै हुनुहुन्छः

राज्यको आफ्नै रेडियो हुनुपर्छ : नेतृ भुसाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवम् पेशागत महासंघ इञ्चार्ज पम्फा भुसालले राज्यको आफ्नै सञ्चारमाध्यम हुनुपर्ने भएकाले रेडियो नेपाललाई बलियो र प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालले गरेको दशैं, तिहार, छठ तथा नेपाल सम्बत्को अवसरमा आज आयोजना गरेको शुभकामना आदान– प्रदान तथा चियापान समारोहमा नेतृ भुसालले राज्यका अन्य संघसंस्था र संगठन जस्तै जनतामा सेवा प्रवाह र सञ्चारमा पहँुच प्रदान गर्न रेडियो नेपालजस्तो राज्यको सञ्चारमाध्यम आवश्यक रहेको बताउनुभयो ।

उहाँले सञ्चारका क्षेत्रमा राज्यले दिएको छुटका कारण एउटै समाचार अनेकथरी रुपबाट आउने गरेको अवस्थामा सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गरेर राष्ट्रिय एकता कायम राख्न राज्यको आफ्नै सञ्चारमाध्यम आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

नेकपाकी केन्द्रीय सदस्य एवम् पेशागत महासंघ इञ्चार्ज भुसालले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनपछि युनियनको भूमिकासँगै कर्मचारीमा पनि रुपान्तरण आवश्यक भएकाले कर्मचारीलाई प्रशिक्षित गरेर सेवा प्रवाहमा निखार ल्याउन आग्ह गर्नुभयो ।

नेकपा केन्द्रीय सदस्य एवम् पेशागत महासंघका बरिष्ठ उपाध्यक्ष प्रेमल कुमार खनालले समाजबाद उन्मुख राज्यका लागि आफ्नै स्वामित्वको सञ्चारमाध्यम आवश्यक हुने भएकाले रेडियो नेपालजस्तो सरकारी सञ्चारमाध्यमलाई बलियो र स्थापित बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ संयोजक दयाराम बस्यालले बलियो संस्थाका रुपमा रेडियो नेपालले दुनियाँ बदल्ने काम गर्नुपर्ने र यसका लागि राज्यले लगानी गर्नुपर्ने बताउनुभयो ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सरकारले रेडियो नेपालका लागि पर्याप्त बजेट दिएर प्रशारणलाई प्रभावकारी बनाउन सहयोग गर्नु पर्ने वा स्वतन्त्र रुपमा अघि बढ्न दिनु पर्ने बताउनुभयो ।

उहाँले संस्थाका कर्मचारीले रुपान्तरणको चाहना राखेपनि राज्यले त्यसतर्फ ध्यान पु¥याउन नसकेको पनि बताउनुुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन संस्थान राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष तिलकजंग बुढाथोकीले सरकारले एक दशकदेखि सार्वजनिक प्रशारण संस्थाको कुरा गरेपनि हालसम्म कुनै प्रगति नभएको बताउनुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपालका अध्यक्ष राजेश श्रेष्ठले कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउँदै राज्यको स्वामित्वमा रहेको रेडियो नेपालको रुपान्तरण गर्न सरकारले चासो देखाउनु पर्ने बताउनुभयो ।

समारोहमा शुभकामना आदान–प्रदान गर्नुका साथै आयोजक संस्थाले प्रकाशन गरेको डायरी वितरण र नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपाल प्रदेश नम्बर २ का अध्यक्ष श्याम किशोर यादवलाई विदाई तथा सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button