तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र घरेलु टोली सिंगापुर भिड्दै

काठमाडौं– नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो अन्तिम तथा चौथो खेलमा आज घरेलु टोली सिंगापुरसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो । यता नेपालसँग पराजित भएपनि सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले पराजित गर्दै इतिहास रचेको थियो । जिम्बावेलाई हराएको सिंगापुरको मनोबल उच्च देखिन्छ ।

सिंगापुरले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले २४ बल अगाडी १ विकेट क्षतिमा पुरा गर्दै सहज जित हात पारेको थियो । उक्त खेलमा कप्तान पारस खड्काले ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै इतिहास रचेका थिए । पारस टि२० मा शतक प्रहार गर्ने नेपालका पहिला खेलाडी हुन् । आजको खेलमा पनि पारसबाट ठूलो आसा गरिएको छ ।

ब्याटिङ नेपाललाई पुन टाउको दुखाईको विषय बनेको छ । पारसले जिम्बावेसँग पहिलो खेलमा १८,सिंगापुरविरुद्ध १ सय ६ नट आउट र जिम्बावेसँग १२ रन जोडेका थिए । जिम्बावेसँग पहिलो खेलमा ८ रनमा आउट भएका आरिफ सिंगापुरसँग ३९ र जिम्बावेसँग २५ रन जोडेका थिए ।

पारसको जोडीका रुपमा ओपनर आजको खेलमा को उत्रन्छ अनिश्चित छ । जिम्बावेसँग ४ र सिंगापुरसँग ५ रनमा आउट भएपछि इशान पाण्डेलाई बेन्चमा राख्दै जिम्बावेसँगको खेलमा पवन सरार्फले मौका पाएका थिए । पवन डक आउट भएपछि पारस अन्यौलमा छन् । यता उप कप्तान दीपेन्द्र सिंह ऐरीले मध्यम पर्दशन गरेका छन् । पहिलो खेलमा जिम्बावेसँग ४० रन जोडेका थिए । जिम्बावेसँग ४ रनमा आउट भएका थिए ।

आजको खेलमा युवा अलराउन्डर कुशल मल्लले मौका पाउने संभावना न्युन छ । उनले जिम्बावेसँग २ र ५ रनमा आउट भएका थिए । उनको स्थानमा सन्दीप जोराले मौका पाउने संभावना छ । बलिङमा नेपालको मध्यमक्रम भने कमजोर देखिदा पावर प्लेमा विकेट मिली रहेको छ ।

यता घरेलु टोली सिंगापुर नेपाललाई हराउँदै उपाधि यात्रा कायमै राख्न चाहान्छ । टिम डेविड आज पनि तगारो बन्न सक्छन् । डेविडले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । उनले पहिलो खेलमा ६४ रनमा अविजित रहेका थिए । जिम्बावेलाई हराउन ४१ रनको योगदान दिएका थिए । त्यस्तै कप्तान अम्जाद महबुब, जनक प्रकाश,सु चन्द्रमोहन,जनक प्रकाश,मनप्रित सिंह,अनन्त कृष्ण र रोहन रंगराजन उसका बलिया हतियार हुन् ।

नेपाल ३ खेलमा १ मा जित र २ मा हारका साथ दोस्रो स्थानमा छ । जिम्बावे ३ खेलमा २ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । सिंगापुर २ खेलमा १ मा जित र १ मा हारका साथ पुछारमा छ ।

अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल सिंगापुरबाटै ओमान जाने छ । ओमानमा असोज १८ देखी २३ सम्म पाँच राष्ट्र सम्मिलित टि२० सिरिज खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button