तपाईँ सुन्दै हुनुहुन्छः

कथाकार सुमीको ‘भावका तरङ्ग’

काठमाडौँ-कवि सुमी लोहनीको पहिलो कथा कथासङ्ग्रह ‘भावका तरङ्ग’ बजारमा आएको छ । पाँच हाइकु र कवितासङ्ग्रह तथा तीन कृतिको अनुवाद गरिसक्नुभएकी लोहनीको कथासङग्रह ‘भावका तरङ्ग’ पुस्तकमाथि सोमबार काठमाडौँमा अन्तरक्रिया गरिएको छ । लोहनीले विसं २०६३ मा मरुद्यानका फूलहरु नामक कवितासङग्रहमार्फत कृति प्रकाशन गर्न थाल्नुभएको थियो ।

दामोदर पुडासैनी प्रतिभा कोषको आयोजनामा भएको कार्यक्रममा कथाकार लोहनीको पहिलो कथासङग्रहबारे समालोचना गर्दै स्रष्टा हेम भण्डारीले प्रतिरोध चेतनाको नमूना ‘भावका तरङ्ग’मा देखिने उल्लेख गर्नुभयो । पुस्तक लैङ्गिक चेतनाका दृष्टिले सशक्त रहेको भण्डारीले बताउनुभयो । साहित्यकार खेमराज पोखरेलले कथासङ्ग्रहको भाषा र विषयवस्तुले पाठकलाई तान्न सक्ने प्रतिक्रिया दिनुभयो ।

कथाकारले पुस्तकमा महिला र पुरुषको सन्दर्भलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको साहित्यकारहरुले बताएका छन् । स्रष्टा शैलेन्द्र प्रकाशले पहिलो कथासङग्रह भए पनि जीवन्त र सन्देशमूलक रहेको भन्दै प्रशंसा गर्नुभयो । कोषका अध्यक्ष दामोदर पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा अर्का साहित्यकार रामकुमार पाँडेले पुस्तकमा नेपाली समाजको यथार्थ चित्रण गरिएको पाएको बताउनुभयो ।

यसअघि लोहनीले मरुद्यानका फूलहरु, अनुपमा, री, झिँगापुरको महायात्रालगायत कृति प्रकाशित गरिसक्नुभएका छ । उहाँले खोज्नु छ अमृत कलश, मनले जिते जीत र एउटा रोबोर्ट दिलाइदेऊ राम कृतिको अनुवाद गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button