तपाईँ सुन्दै हुनुहुन्छः

प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरमा भक्तजनको भिड

 बागलुङ नेपालीहरु महान चाड बिजया दशमीको पहिलो दिन प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरमा भक्तजनको घुँइचो लागेको छ ।

यहाँ धौलागिरी अञ्चलसँगै पोखरा, काठमाडौं, स्याङ्जा, बुटवल, चितवन लयायत देशका विभिन्न ठाउँबाट भगवतीको दर्शनका लागि भक्तजनहरु आएको भगवती गुठी व्यवस्थापक समिति बागलुङ्गका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो ।

बिजया दशमीको अवसरमा बैदेशिक रोजगारको लागि बिदेश गएका व्यक्तिहरु समेत दशैंमा घर फर्कने कारणले गर्दा पनि मन्दिरमा भिड बढेको हो । कालिका मन्दिरमा आज घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरेर जमरा राखिएको छ ।

आफ्नो मनोकामना पुरा हुने विश्वासमा विभिन्न स्थानबाट भाकल गर्ने भक्तजनले कुखुरा, राँगा, बोका, परेवा आदि बलि चढाउने गर्छन् । आजबाट नवदुर्गा शुरु भएपछि मन्दिरमा भक्तजनहरुले भाकल गरेका बोका, हाँस र कुखुराका बलि चढाउने क्रमसमेत शुरु भएको छ ।

मन्दिरमा एकादशी, औंसी र श्रावण तथा माघ महिनामा भने बलि चढाउन निषेध गरिएको छ । मन्दिरमा प्रत्येक मंगलवार र शनिवार लगायत स–साना चाडपर्वमा उल्लेखनिय मात्रामा दर्शनार्थी आउने गरेपनि नवदुर्गाको अवधिभर मन्दिरमा भिड नै लाग्ने गर्छ ।

भक्तजनको सुविधा तथा शान्ति सुरक्षाका लागि समितिले प्रहरी तथा स्वयंसेवक परिचालन गरेको छ । मन्दिरको दर्शनका लागि पुगेका बागलुङका धर्मराज शर्माले अन्य समयमा कम मात्रामा आउने भएपनि नवदुर्गामा सधैँ आउने गरेको बताउनुभयो ।

यस्तै देशका एक सय पर्यटकिय गन्तव्यमा परेको यस कालिका मन्दिरका लागि संघिय सरकारबाट एक करोड रुपैँया र प्रदेश सरकारबाट ५० लाख रुपैँया बिनियोजन भएको संघिय सांसद डा.सुर्य पाठकले बताउनुभयो । जिल्लाको मुख्य पर्यटकिय गन्तव्यका रुपमा रहेको मन्दिरमा थप पुर्वाधार निर्माणका लागि आगामी दिनमा पनि बजेट बिनियोजन गर्न पहल गर्ने पाठकले बताउनुभयो ।

दशैं अवधिभरी छिमेकी मुलुक भारतबाट समेत सन्यासी जोगीहरु आउने गर्छन । तर केही समय अघि मन्दिर परिसरमा बसेर माग्नेहरुलाई हटाइएपछि भने गत बर्ष भन्दा कम जोगी र माग्नेहरु बसेका छन् ।

यस्तै दशैँ सुरु भएसंगै मन्दिर परिसरका होटलहरु पनि भरिभराउ भएका छन् । तर निर्माणाधिन बागलुङ–पोखरा राजमार्गको सडक हिलाम्मे तथा समय समयमा अवरुद्ध हुने एवं बर्षा बढी भएकाले बाहिरी जिल्लाबाट आउने भक्तजनको संख्या घटेको होटल व्यवसायी अर्जुन चोखालले बताउनुभयो ।

सोह्रौं शताब्दीमा पाल्पाका राजा मणीमुकुन्द सेनले आफ्नो छोरीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसंग विवाह गर्ने क्रममा छोरीले खेल्ने देवीको मुर्ति दाइजो स्वरुप दिएका थिए । हालको मन्दिर रहेको स्थानमा आउँदा मुर्ति डेग नचलेपछि त्यही प्रतिस्थापन गरिएको र त्यहि बेलादेखि यहाँ पुजाआजा शुरु भएको इतिहासमा उल्लेख गरिएको छ ।

बागलुङ जिल्ला छिचोलेर जाने मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको निर्माण सम्पन्न भएपछि यस जिल्लाको पर्यटन प्रबद्धन हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button