तपाईँ सुन्दै हुनुहुन्छः

अभावमा छात्रावासका मुक्त कमलरी बालिका

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ को ऐरीमा रहेको पूर्ण माध्यमिक विद्यालयको आवासीय छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरी बालिका आर्थिक अभाव झेल्दै आएका छन् ।

बालिकालाई लुगा खरीद गर्न, खाना खर्च जुटाउन, औषधि उपचारका लागि खर्चको अभाव भएको हो । छात्रावासमा बसेर अध्ययन गर्दै आएका ३२ बालिकामध्ये अधिकांश अभिभावकविहीन अवस्थाका छन् । कमलरी बालिका कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत छन् ।

सरसफाइ खर्चबापत कमलरी बालिकालाई मासिकरुपमा रु ५०० दिइने गरेको छ । जसबाट उनीहरुले नुहाउने लुगा धुने साबुन र सोडा खरीद गर्दै आएका छन् । थारै खर्च रकम भएकाले नपुग्ने मुक्त कमलरी विकास मञ्चका केन्द्रीय सदस्य शान्ति चौधरीले भन्नुभयो, “औषधोपचारका लागि खर्चको व्यवस्था नहुँदा निकै गाह्रो छ ।”

अभिभावक नभएका मुक्त कमलरी बालिकाले एक जोर विद्यालय पोशाकमै वर्ष कटाउनु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । पहिला केही दातृ निकायले मुक्त कमलरी बालिकालाई सहयोग रकम जुटाइने कार्यले गर्दा सहज भएपनि हाल दातृ संस्थाले हेर्न छाडेपछि कमलरी बालिका आर्थिक अभाव झेल्न बाध्य भएका छन् ।

दश महीनासम्म खाना खर्चका लागि बजेटको व्यवस्था गरिने भएपनि दुई महीना खाना खर्च जुटाउन कमलरी बालिकालाई निकै समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक पर्शुराम पन्त छात्रावासमा पढ्दै आएका मुक्त कमलरी बालिकाको लुगाफाटोको व्यवस्था सङ्घ संस्थाले दिएकै भरमा हुने गरेको बताउनुभयो ।

कमलरी बालिकाका लागि अतिरिक्त खर्च कुनै पनि निकायबाट उपलब्ध नहुँदा जेनतेन धानिँदै आएको छ । उहाँले भन्नुभयो, “नपुगेको रकम विद्यालयबाटै मिलाउँदै आएका छाँै । विद्यालयमा आर्थिक स्रोतको कमी भएकाले सबै समस्या समाधान गर्न गाह्रो छ ।”

“मुक्त कमलरी बालिकालाई छात्रावासमा राख्दा विद्यालयसँग सम्झौता नगरी राखिएको रहेछ । त्यसैले अभिभावकबाट अन्य छात्राछात्रलाई छात्रावासमा बस्ने व्यवस्थाका लागि दबाब झेल्नु परेको छ”, उहाँले भन्नुभयो । छात्रावासमा बस्दै आएका मुक्त कमलरी बालिकाको रेखदेखका लागि एक वार्डेन र एक भान्सेको व्यवस्था विद्यालयले गरेको छ । मुक्त कमलरी बालिकाको पढाइको स्तरमा पहिलाको तुलनामा निकै सुधार हुँदै आएको प्रधानाअध्यापक पन्तले बताउनुभयो । हालसम्म विद्यालय शिक्षा पूरा गरेर २२ मुक्त कमलरी बालिका अन्यत्र गएका छन् ।

छात्रावासमा बेलौरी नगरपालिकाको लक्ष्मीपुर र श्रीपुरबाट मुक्त कमलरी बालिकालाई स्थानान्तरण गरी यहाँ पुनःस्थापन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button