तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई गाली गरेर समृद्धि आउँदैन : मुख्यमन्त्री पौडेल

मकवानपुर– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई गाली गरेर मात्र समृद्धि नआउने बताउनुभएको छ । प्रदेश ३ को प्रदेश विकास परिषद्को पहिलो वैठकलाई आज हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सधैंभरि नकारात्मक कुरा मात्रै गरेर सामाजिक र आर्थिक विकास नहुने तर्क गर्दै सधैँ सरकारलाई गाली गर्ने संस्कारबाट मुक्त हुनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार परिणाममुखी काम गर्ने भएको भन्दै परिणम नआउने काममा कहिले हात नहाल्ने समेत बताउनुभएको छ । प्रदेशको नीति तथा कार्यक्रममा नीजि क्षेत्रबाट ६२ प्रतिशत लगानी अपेक्षा गरेको समेत मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । प्रदेश सरकारले नीजि क्षेत्रलाई पाखा लगाएर अगाडी बढ्न नसक्ने भएकोले नीजि क्षेत्रलाई समेटेर अगाडी बढेको उहाँले बताउनुभयो । प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै प्रदेश सरकारले कृषि स्वंसेवक खटाउने तयारी गरेको उहाँले बताउनुभएको छ ।

प्रदेश नम्बर ३ मा प्रदेशको छुट्टै प्रदेश पुर्वाधार निर्माण कम्पनीको निर्माण गर्ने अन्तिम तयारी भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश स्तरका निर्माण कार्यहरुमा प्रदेशकै निर्माण कम्पनीले काम गर्ने बताउनुभयो । कम्पनीमा पनि नीजि क्षेत्रको समेत लगानी हुने उहाँले बताउनुभयो । त्यस्तै प्रदेश ३ भरी विद्युतीय सवारी तथा अन्य यातायात सेवाहरु सञ्चालन पनि प्रदेश सरकारले गर्ने तयारी गरेको मख्यमन्त्री पौडेलले बताउनुभयो ।

कार्यक्रममा प्रदेश आर्थिक तथा योजना मन्त्रालयका सचिव मुकुन्द पौडेल र प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामराज बस्नेतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलास प्रसाद ढुङ्गेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, समितिका सदस्यहरु, मन्त्रालयका सचिवहरुलगायतकाको सहभागिता रहेको थियो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयाल, विकास परिषदका सदस्य कल्पना शर्मा, प्रदेशका प्रमुख सचिव तोयम राय लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बैठकमा सहभागी परिषदका सदस्यहरुले प्रदेश विकास परिषदले ल्याएको खाका सकारात्मक भएपनि प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button