तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ, तिहार तथा छठलाई लक्षित गरेर यात्रु सहायताकक्ष सञ्चालन गर्दै ट्राफिक प्रहरी

महान् चाड बडादशैँ, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन विशेष योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीका अनुसार दशैँलाई लक्षित गरेर बाँकेका छ स्थानमा यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । प्रहरी निरीक्षक पविन्द्र बमका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायीरूपमै यात्रु सहायता केन्द्र रहनेछन् ।

यस्तै चप्परगौडी, पुष्पलालचोक र कोहलपुर चौराहामा अस्थायी यात्रु सहायताकक्ष सञ्चालन गरिनेछ । ट्राफिक प्रहरी, सामुदायिक तथा जनपद प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवसायी, उपभोक्ता समूहका प्रतिनिधि ट्राफिक भोलियन्टरका रूपमा नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रमा खटिने प्रहरी निरीक्षक बमले बताउनुभयो ।

“चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि यात्रु सहायताकक्ष सञ्चालन गर्न लागिएको हो”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “भीडभाड हुनेस्थल र टिकट काउन्टरमा हुनसक्ने ठगी नियन्त्रण गर्न सहायताकक्ष सञ्चालन गर्न लागेका हौँ ।” जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग र रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने पनि उहाँले बताउनुभयो । ट्राफिक सुरक्षा योजनामा लामो दूरीका सवारी साधनमा दुई चालक अनिवार्यरुपमा भए÷नभएको समेत जाँच गरिने प्रहरी निरीक्षक बमको भनाइ छ ।

“दुई चालक भए÷नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिनेछ”, उहाँले भन्नुभयो । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट अनिवार्य टाँस गर्न लगाउने जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक ओम पौडेलले बताउनुभयो । उहाँका अनुसार विभिन्न नाका तथा बसपार्क क्षेत्रमा थप जनशक्ति परिचालन गरिनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button