तपाईँ सुन्दै हुनुहुन्छः

खराब मौसमका कारण पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप स्थगन   

भद्रपुरझापाको विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही असोज ११ गतेदेखि हुने भनिएको पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप मौसम खराबका कारण स्थगन गरिएको छ । आज रङ्गशालामा पत्रकार सम्मेलन गरी आयोजक जायोन स्पोर्टस् क्लबले खराब मौसमकै कारण प्रतियोगिता स्थगन गर्नुपरेको जानकारी दिएको हो ।

आयोजक क्लबका प्रवक्ता अविनाश राईले मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी खेल स्थगन गरिएको जानकारी दिनुभयो । उहाँले खेल सञ्चालनका लागि कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको बताउनुभयो । उहाँका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पत्राचार गरिएको छ ।

प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गई चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगन गरिएको उहाँको भनाइ थियो । प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगन गर्नुपर्दा दुःख लागेको उहाँले पत्रकारहरुलाई बताउनुभयो ।

असोज ११ गतेदेखि १८ गतेसम्म हुने भनिएको गोल्डकपमा यसअघि चार वटा ए डिभिजन क्लब, मोफसलका दुई र भारतका दुई टिमले सहभागिता जनाउने खेल तालिका सार्वजनिक गरिएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button