२०७९ साल जेठ ३ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु

रेडियो नेपाल २०७६ असोज ८ गते १५:०४

बलेवा । जलवायु परिवर्तनको असर कम गर्न पोखरी संरक्षण कार्य शुरु गरिएको छ ।

गाउँमा पानीका मुहान सुक्दै जान थालेपछि बागलुङको बढीगाड गाउँपालिकाले पौराणिक पोखरीको संरक्षणको काम थालेको हो । जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै जान थालेकाले मुहान संरक्षण गर्नका लागि पनि अभियान चलाएको गाउँपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा वडा नं. ५ स्थित सामुदायिक वनमा रहेको केशा पोखरी संरक्षणका लागि छुट्ट्याइएको रु पाँच लाख बजेटबाट पोखरी वरिपरिको झाँडी फँडानी गरेर संरक्षणको काम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

पोखरी संरक्षण गरेर भ्यू टावर निर्माण गर्ने भन्दै त्यसका लागि संरचना निर्माण गर्न पोखरी वरिपरिको झाँडी फँडानी गरिएको छ । ‘गत आर्थिक वर्षमा पोखरीको परिसर बनाउने भनेर रु पाँच लाख बजेट विनियोजन भएको थियो’ वडा नं. ५ का अध्यक्ष अर्जुन खरेलले भन्नुभयोे, “म अनुगमनका लागि गएको छैन्, पोखरी वरिपरिको झाँडी फँडानी गरेको सुनेको छु ।” पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भन्दै गाउँपालिकाले प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरेको थियो ।”

उपभोक्ता समितिमार्फत उक्त पोखरी संरक्षण योजनाको काम भएको थियो । पोखरीको कम्पाउण्ड निर्माण गर्ने भनिएको रकम शीर्षकमा झाँडी फँडानीकै स्टमेट गरेर प्रारम्भिक काम थालिएको गाउँपालिकाका इञ्जिनीयर दिनबन्धु शाहले बताउनुभयो ।

‘पोखरीको वरिपरि झाँडी र काँडाका रुख थिए’ इञ्जिनीयर शाहले भन्नुभयो “त्यसको व्यवस्थापन नगरी भ्यू टावर निर्माण र पोखरीको कम्पाउण्ड नहुने भएकाले झाँडी फँडानी गरिएको हो ।” पोखरी वरपर रहेका गुराँस, खर्सुलगायतका पुराना रुखमात्रै कटान गर्ने गरी स्टमेट गरेको उहाँको दाबी छ । ‘१५० देखि दुई सय रुख काटिएका छन्, जुन रुख काठ हुने खालका वा प्रतिबन्धित होइनन्’ उहाँले भन्नुभयो, “पोखरी र भ्यूटावरकै लागि रुख काँटिएका हुन, त्यसले वातावरणमा फरक पार्दैन ।” केशा पोखरी पशुपक्षी संरक्षण तथा सामुदायिक वन क्षेत्रमा पर्छ ।

गाउँपालिकाकै उच्च स्थानमा रहेको पोखरीको संरक्षण गर्दा तल्लो क्षेत्रका पानीका मुहानको पनि संरक्षण हुने भएकाले आसपासको झाँडीसँगै केही साना रुख कटान भएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो ।

‘वन मासिने गरेर होइन, झाँडी पन्छिने गरेर फँडानी गरिएको हो’ अध्यक्ष पाइजाले भन्नुभयो, “पर्यटकीय क्षेत्र बनाउनका लागि यसो गरेका हौं ।” यो योजना पालिका अध्यक्ष पाइजाको गाउँछेउमा पर्छ । पर्यटन र कृषि क्षेत्रमा रुची राख्ने पालिका अध्यक्ष पाइजाकै सक्रियतामा पोखरी संरक्षणका लागि बजेट बिनियोजन भएको थियो ।

समुद्रिक सतहबाट झण्डै दुई हजार ७०० मिटरको उचाइमा रहेको सो पोखरी आसपासबाट गण्डकी प्रदेश र प्रदेश नं. ५ का विभिन्न नौ जिल्लाको अवलोकन गर्न सकिन्छ । रुख काटेर बनाइने ताललाई पालिकाले गौरवको योजना भनेको छ । गौरवको आयोजना भएकाले यसवर्ष पनि उक्त पोखरीको लागि रु पाँच लाख बजेट विनियोजन भएको पाइजाले बताउनुभयो ।

पोखरीमा रहेको पानीको स्रोत अपर्याप्त रहेकाले अन्य स्रोतबाट पानी ल्याएर पोखरीको आकार बढाउने योजना पनि गाउँपालिकाले बनाएको छ । रुख फाँडिएको क्षेत्रमा पोखरीको पुनःनिर्माणसँगै भ्यूटावर निर्माण, खानेपानीको प्रबन्ध, शौचालय निर्माण, पदमार्ग निर्माण र अन्य पूर्वाधार निर्माण गर्ने योजना रहेको अध्यक्ष पाइजाको भनाइ छ ।

कुनै पनि सामुदायिक वनले योजना निर्माणका क्रममा तय गरिएको कार्यक्रमले सकरात्मक प्रभाव पर्ने भएमा सामुदायिक वनभित्रका रुख तथा झाडी कटान गर्न पाउने व्यवस्था छ । ‘वातवरण मासिनेगरी रुख काट्न पाइदैन तर समूहले चाहेमा प्रतिबन्धित बाहेकका रुख काट्ने वा कलमी गर्न पाउँछ’ सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले भन्नुभयोे, “काठ दाउरा कति निकाल्ने भन्ने पूर्व निर्णय हुनुपर्छ ।” रासस

सम्बन्धित