तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री खतिवडाको निर्देशन : राजस्व प्रशासनमा स्वच्छता कायम गरी कार्य सम्पादन गर्नु

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायी मैत्री रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

उहाँले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारी रुपमा तयारी गर्न नागरिक उडड्यन विभागसँग समेत पयाप्त सहकार्य गर्नुपर्ने बताउनुभयो । विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्नेमा सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्सारमा रहेका मालवस्तु तथा सामानहरुको समयमै निकासी तथा लिलामी गरि काम नलाग्नेलाई स्टलमा नराखी खाली गर्न समेत निर्देशन दिनुभयो । उहाँले तोकिएको राजस्व पुरा गर्न सबै प्रकारका प्रयासहरु गर्ने, आवश्यक जनशक्तिको व्यवस्थापनमा अर्थ मन्त्रालय र भन्सार विभागले ध्यान दिनसमेत निर्देशन दिनुभयो ।

उहाँले निर्यात हुने मालवस्तुलाई प्राथमिकता दिनुपर्ने भन्दै जाँचपास प्रक्रियालाई सरल, छिटो र चुस्तदुरुस्त बनाई विवेकीय एवम् नीतिगत रुपमा स्वच्छ सेवा दिन सुरक्षा निकाय, अध्यागमन, प्राधिकरण भन्सारलगायतको उत्तिकै सहकार्य तथा सहयोग आवश्यक पर्ने बताउनुभयो ।
स्थलगत निरीक्षणमा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य, त्रिविका सुरक्षा प्रमुखलगायतको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button