तपाईँ सुन्दै हुनुहुन्छः

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

दाङ । दाङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ का दुई महीनामा ३४ महिला तथा २९ बालबालिका हराएका छन् । जसमा १६ बालिका र १३ बालक हराएका छन् । तीमध्ये छ महिला, पाँच बालिका र पाँच बालक फेला परेका छन् भने अन्य २८ महिला ११ बालिका र आठ बालक सम्पर्कमा आउन सकेका छैनन्् ।

सो तथ्याङ्क हेर्दा महिला र बालबालिका गरी हराएका ६३ मध्ये १६ फेला परेका छन् भने अझै ४७ फेला पर्न सकेका छैनन् । हराएमा खोजीका लागि प्रहरीलाई खबर गरे पनि कतिपयले भने भेट्टाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले पनि तथ्याङ्कमा तलमाथि हुने गरेको उहाँको भनाइ छ । विभिन्न प्रलोभनमा पारेर महिला तथा बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक लैजाने, महिला पारिवारिक समस्याका कारण तथा श्रीमान्, वैदेशिक रोजगारका क्रममा गएका र घरमा श्रीमतीले पैसा हिनामिना गरेर घरबाट हिँड्ने गरेकाले पनि यस्तो समस्या रहेको उहाँले बताउनुभयो ।

हराएका महिला बालबालिकालाई रोक्नका लागि बढी भूमिका अभिभावककै रहने हुँदा अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको समेत प्रहरी निरीक्षक गौतमले बताउनुभयो । यसैगरी नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । बालबालिकालाई काममा लगाउँदा पारिश्रमिक दिन नपर्ने भएका हुँदा श्रमको लागि लैजाने गरेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button