तपाईँ सुन्दै हुनुहुन्छः

निजी जग्गामा भवन बनेपछि कोल्ड स्टोर अलपत्र

पर्वत-पर्वतको मोदी गाउँपालिका २ देउपूरमा निजी  जग्गामा सरकारी रकम प्रयोग गरि बनाईएको भवन अलपत्र परेको छ । तीन वर्ष अगाडी शित भण्डार (कोल्ड स्टोर) बनाउन उक्त भवन बनाईएको थियो । एकतला बनाएर छत ढलान गरेर सकिएको छ । मोदी २ देउपूरका वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार निजी जग्गामा भवन बनेको उजुरी परेपछि सरकारले बजेट रोकको हो । बजेट रोकिएपछि पछि बाँकि काम अगाडी बढ्न सकेको छैन ।

भवन बनेको जग्गा स्थानीय खेमबहादुर हमालको नाममा छ । तत्कालीन समयमा जग्गा धनीलाई पैसा नदिई सरकारी बजेटले धमाधम भवन निर्माण गरेपछि जग्गाधनीले मुल्य नमिलेकाले उपभोक्तालाई जग्गा नदिने अडान लिएपछि बिबाद बढेको हो ।

कोल्ड स्टोर बनाउन पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाको बेला राजनीतिक पहुँचको आधारमा ५ करोड स्टीमेट सहित काम थालिएको थियो । निजी जग्गामा भवन रहेकाले सरकारले बजेट रोकेपछि भवन निर्माणको काम पनि रोकिएको भवन निर्माण समितिका अध्यक्ष गंगा तिमिल्सिनाले बताउनुभयो ।

अहिले भवनको भुइँ तल्लामा सडक मर्मत गर्ने मजदूर बस्दै आएका छन् भने केहि कोठामा स्थानीयले घाँसपराल राख्ने स्टोरका रूपमा प्रयोग गरेका छन् । भवन बेवारिसे भएपछि तत्कालीन समय गरेको ढलान र प्लास्टरसमेत काम नलाग्ने भइसकेको छ ।

चिस्यान केन्द्रको निरन्तरताका लागि स्थानीयले मोदी २ देउपुर, मोदी गाउँपालिका, प्रदेश र केन्द्रसम्म गुहारेका छन् । गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भवन निजी जग्गामा बनेका कारण बजेट रोकिएको र समाधानको उपाय खोजी भैरहेको बताउनुभयो । गाउँपालिकाले सार्वजनिक जग्गा खोजेर सरकारलाई वजेट पठाउन अनुरोध गर्ने तयारी गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

मोदीको देउपुरमा मात्रै वर्षेनी ३ करोडको सुन्तला उत्पादन हुन्छ । सिजनमा ३० देखि ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला अपसिजनसम्म राख्न सके १ सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने किसानले बताएका छन् । कोल्ड स्टोर बनेमा सुन्तला, आलु र तरकारी स्टोर गर्न सकिने स्थानीय कृषक दाताराम चापागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button