तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा लगानी सम्मेलन : ५० अर्बभन्दा बढी लगानी भित्रिने अपेक्षा

बुटवल-स्थानीय तहका तर्फबाट मुलुकमै पहिलोपटक रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको छ । यही असोज ९ गते आयोजना हुने लगानी सम्मेलनमा राज्यका सङ्घ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता र विशेषज्ञको समेत प्रतिनिधित्व रहनेछ ।

लगानी सम्मेलनमा रहने महत्वपूर्ण सहभागितामा नगरपालिकामा प्राथमिकता, लगानीका उद्देश्य र सम्भावनाका बारेमा छलफल हुने छ । नगरपालिकाले अहिलेसम्ममा कृषि, पर्यटन, उद्योग, पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकता दिएर लगानी सम्मेलनमा विभिन्न २२ परियोजनाका विषयमा प्रस्ताव लैजाने तयारी गरेको नगरप्रमुख वासुदेव घिमिरे बताउनुहुन्छ ।

सो सम्मेलनको उद्देश्य र यसको सफल कार्यान्वयनका लागि नगरप्रमुख घिमिरेले विभिन्न पक्षसँग छलफल गर्नुभएको छ । लगानी सम्मेलनमा आयोजकसहित सङ्घीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेता, सरकारका उच्चपदस्थ प्रतिनिधि, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, नेपाली निजी क्षेत्र, गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी लगानीकर्तासमेत गरी करीब ८०० को सहभागिता रहने नगरप्रमुख घिमिरेले बताउनुभयो ।

यसै विषयमा नगरपालिकाले देशमै पहिलोपटक लगानी सम्मेलन आयोजना गरेर सम्पूर्ण राज्य, निजी क्षेत्र र विकास साझेदार निकायको ध्यानाकर्षण गरेको छ । राज्यको बजेट तीन तहका सरकार सञ्चालन, व्यवस्थापन र संरचना निर्माणमा धेरै खर्च हुने अवस्था छ ।

प्रदेशमा पनि भौतिक संरचना निर्माणमा ठूलो रकम खर्च हुँदा चाहेर पनि अनुदान रकम प्राप्त हुनसक्ने अवस्था छैन ।सङ्घीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट पनि ठूला आयोजना, भौतिक पूर्वाधार, कृषि, पर्यटनसँग सम्बन्धित परियोजना सञ्चालन गर्न नसकिएको अवस्थामा सो नगरपालिकाले पाँच वर्षीय एकीकृत शहरी विकास योजना र १५ वर्षीय रणनीतिक योजना तयार गरेको तथा ती योजना समयमै सम्पन्न गर्न आवश्यक पर्ने लगानी जुटाउन निजी क्षेत्रको सहभागिता जरुरी ठानेर उक्त सम्मेलनको आयोजना गरिएको नगरप्रमुख घिंमिरेको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button