तपाईँ सुन्दै हुनुहुन्छः

काठमा बुट्टा कुँद्न अब्बल महिला

 

हेटौँडा।विद्यार्थीलाई स्कूल जान हतार भएझैँ बिहान ९ः०० बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइला छिटोछिटो चल्न थाल्छन् । उन्नाइस वर्षीया सविनासँगै उमेरले ५० की हेटौँडा उपमहानगरपालिका–५ पिप्लेकी बालकुमारीको ध्यान काठमा कस्ता बुट्टा दिने र कसरी आकर्षक बनाउने भन्नेमा हुन्छ ।

आफ्नो सीपबाट उद्यमी बन्ने सपना बोक्दै केही समयअघि काष्ठकलासम्बन्धी तालीम लिनुभएका उहाँहरुले अहिले भने आफ्नो समूहले सञ्चालन गरेको काष्ठ हस्तकला उद्योगमा नै बुट्टा कुँदेर आफ्नो रहर पूरा गर्न थाल्नुभएको छ । बुट्टा कुँदेर नै त्यसबाटै पैसा कमाउने सपना पूरा गर्नतर्फ लालायित हुनुहुन्छ बालकुमारी । उहाँ अहिले विभिन्न किसिमका फोटोफ्रेम, आँखीझ्याल, ढोका, झ्याल, मन्दिरको गजुरदेखि लिएर अन्य काष्ठकलासम्बन्धी बुट्टा कुँद्न पोख्त बनिसक्नुभएको छ ।

उहाँ अहिले यस पेशाबाट सन्तुष्ट भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “म र मेरो श्रीमान् बल छउञ्जेल निर्माण पेशामा काम गरेर परिवार पाल्यौँ, तर अब हामी निर्माणकार्यमा काम गर्न नसक्ने भइसकेका छौँ, अब यो काम बसीबसी गर्ने भएकाले सजिलो पनि भएको छ ।” मकवानपुरमा सामुदायिक वन उपभोक्ता समूहका महिलालाई वनबाट नै आर्थिक उन्नति गराउनका लागि अस्मिता नेपाल र हिमवन्तीको संयुक्त प्रयासमा सञ्चालन भएको तालीमबाट गत वर्ष सिक्ने अवसर पाई यसैमा व्यावसायिकरूपमा लाग्ने योजना बनाएका थिए ।

बालकुमारी र सपनाजस्तै अन्य ५० विपन्न वर्गका महिला एवं किशोरीले तालीम लिएर यसलाई पेशाका रुपमा विकास गरिसकेका छन् । यसै वर्ष स्नातकोत्तर सकेर बसेकी गढी गाउँपालिकाकी २२ वर्षीय मेरिना लामा पनि काष्ठकलालाई नै आफ्नो आर्थिक विकासको मुख्य स्रोत बनाउने योजनामा हुनुहुन्छ । सानैदेखि चित्र कोर्न औधी मन पराउने उहाँको परिवार मनकामना सामुदायिक वन उपभोक्ता समूहमा आश्रित छ । उहाँ पनि वन समूहको सदस्य भएकाले सो अवसर पाउनुभएको हो । उहाँले भन्नुभयो, “मैले स्नातक सकेकी छु, मलाई यो पेशा औधी मन परेकाले यसमा लाग्ने योजना बनाएकी हुँ ।”

पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहमा रहेका महिलाको समूहले उद्योग दर्ता गरी सो काम सञ्चालन गरिरहेका छन् । महिलाले उद्योग चलाउन थालेपछि यसमा आफ्नो भविष्य देख्न थालेको सविनाले बताउनुभयो । मकवानपुरगढी गाउँपालिकास्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहका महिला पनि काष्ठकलामार्फत उद्यमी बनेका छन् । उनीहरुले बनाएका काष्ठ हस्तकला सामग्री मकवानपुरलगायत देशका अन्य शहरमा पनि बिक्री हुने गरेका छन् ।

काष्ठ हस्तकलासम्बन्धी तालीम दिँदै आएका प्रशिक्षक बाबुलाल वाइबाका अनुसार हाल काठका सामग्रीको बजार राम्रो छ । केही समयअघि तालीमको आयोजना गरेको संस्था अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले सामुदायिक वनले संरक्षण गरिरहेका महिलालाई आत्मर्भिर, आर्थिक सशक्तीकरण गराउँदै उद्यमशील बनाउन तालीम सञ्चालन गरिएको बताउनुभयो । मकवानपुरमा सामुदायिक वन उपभोक्ता समूहका महिलालाई वनबाट नै आर्थिक उन्नति गराउन अस्मिता नेपाल र हिमवन्तीको संयुक्त आयोजनामा तालीम र औजारका साथै काठसमेत सहयोग गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button